सल्यान : सल्यानमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको मतमध्ये तीन हजार ४५८ मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जिल्लामा रहेका एक लाख ६२ हजार ४४९ मतदातामध्ये ८३ हजार १६७ मत खसेको थियो। तीमध्ये ७९ हजार ४४९ मत मात्र सदर भएको जनाइएको छ।
मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार यस निर्वाचनमा रमेश कुमार मल्ल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार मल्लले २३ हजार एक सय ८९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरेका छन् । मल्लले चन्दलाई दुई हजार २८५ मतान्तरले पराजित गरेका हुन् ।
यसैगरी केश बहादुर विष्ट (नेपाली कांग्रेस) ले १७ हजार ५५८ मत, गुलाब जंग शाह (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले १५ हजार ३७३ मत तथा अनिषा नेपाली (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ९०२ मत प्राप्त गरे ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकृत तेजेन्द्र कुमार चन्दका अनुसार अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेकामा प्रत्यक्षतर्फ ८३ हजार ७०४ मत खसेको थियो। तीमध्ये ७६ हजार ३२८ मत सदर र सात हजार ३७६ मत बदर भएका थिए, जुन कुल खसेको मतको ८.८१ प्रतिशत हो।
त्यस्तै समानुपातिकतर्फ ८४ हजार ७८९ मत खसेकामा ६ हजार २१५ मत बदर भएको थियो। प्रदेशसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ ४ देखि ६ प्रतिशतसम्म तथा समानुपातिकतर्फ ७.५१ प्रतिशत मत बदर भएको तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार