काठमाण्डौ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव र इस्तिहाक राईसहित ठुलो सङ्ख्यामा जसपाका नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
आइतवार मध्यराती नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा उनीहरूलाई पार्टी प्रवेश गराइएको सचिव महेश बस्नेतले बताए । एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव नेता इस्तियाक राईलगायतका नेताहरूलाई अध्यक्ष ओलीले खादा लगाएर एमालेमा प्रवेश गराएका हुन् । यादव र राई अशोक राई नेतृत्वको जसपामा उपमहासचिव थिए ।
पूर्वमन्त्री इस्तियाक राई पार्टीमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पुष्टि गरेका छन् ।
यसैगरी वीरगन्ज महानगरपालिकाका ७ जना वडाध्यक्ष पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज ठुलो सङ्ख्यामा जसपा लगायत अन्य पार्टीमा रहेका वडाध्यक्षहरू एमालेमा प्रवेश गरेको हजाराले बताए । यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गरेको पर्सा जिल्ला सचिव महेश दासले जानकारी दिए ।
उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका हुन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा उम्मेद्वार बनाउने भएको छ । यस्तै, राईलाई बाँके २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार