Listen LIVE

गाउँपालिकाकी उपाध्यक्ष ज्यान मुद्दामा पक्राउ

कञ्चनपुर : कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । गाउँपालिका उपाध्यक्ष नाथलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी नाथलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । किटानी जाहेरी र जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमति दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनले बताए ।

कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको थियो । बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै गत वैशाखको पहिलो साता जलेको अवस्थामा बेल्डाँडी गाउँपालिका–३ कमरीका हरिकिसन राना मृत फेला परेका थिए ।

५० वर्षीय राना सडकछेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेलापरेको विषय केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद दीपक बोहराले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका थिए । प्रहरीले घटना सडक छेउमै भएकाले सडक दुर्घटना भएको वा हत्या भएको विषय शङ्कास्पद भन्दै अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया