Listen LIVE

कांग्रेसले अब देशलाई बदल्न चाहेको छ : केन्द्रिय सदस्य बाल्मिकी

नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेस अहिले बदलिएको र देशलाई बदल्न चाहेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आफु र देशलाई बदल्ने अठोटका साथ आसन्न निर्वाचनको मैदानमा होमिएको प्रष्ट्याए । 

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्व तयारीका सन्र्दभमा निर्वाचन प्रचार–प्रसार समितिले शनिबार आयोजना गरेको जिल्लास्तरिय बृहद् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले विगतका निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्तीलाई तोडेर यसपटक कांग्रेसले १ सय ६५ वटै क्षेत्रलाई रुख चिन्हमा मतदान गर्न पाउने गरी उम्मेदवारी दिएको बताए ।

‘विगतका दिनमा कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गर्ने गरेको थियो, हाम्रा साथीहरुलाई कहिले सुर्यमा, कहिले हसिया हतौडामा, कहिले हलोमा मत हाल्न बाध्य पारिएको थियो,’ उनले भने, ‘यसपाली बदलिएको छ कांग्रेस, देशलाई बदल्न चाहन्छ कांग्रेस ।’ 

आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ताहरुले आ–आफ्ना वडामा समय दिएर लाग्न केन्द्रिय सदस्य बाल्मिकीले निर्देशन दिए । ‘हामी सबैले आफ्नै वडामा ध्यान दिने हो भने नेपाली कांग्रेस विजयी हुन्छ,’ उनले थपे । 

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला सचिव एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुधान्सु कोईराला, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारद्धय दुःखीराम लोनिया र दीपनारायण बर्मा, कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी तथा नेताहरु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेशकी सांसद सञ्जुकुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया