नेपालगञ्ज : यहाँस्थित नेपाल–भारत सीमा पारी रहेको रुपैडिहाको नेपालगञ्ज रोड नामक रेल स्टेशन र रुपैडिहादेखि बहराइच सम्मको रेल लाइनलाई ब्रडगेज (बडी लाइन) मा स्तरोन्नती र विद्युतिकरण गर्ने कार्य सम्पन्न गरिएको छ ।
नेपालगञ्ज रोडदेखि बहराइच सम्मको करिब ५५ किलोमिटर लामो रेल लाइनलाई ब्रडगेज रेल लाइनमा विस्तार गर्नुका साथै सो लाइनमा पर्ने चार वटा स्टेशनलाई अत्याधुनिक तरिकाले पुनःर्निमाण गरिएको हो ।
भारतीय रेल विभागका इन्जिनियर ए.पी. नौविकले सो परियोजनाअन्तर्गत ५५ किलोमिटरको रेल लाइनलाई नयाँ तरिकाले बिछाएर ब्रडगेजमा बिस्तार गर्नुका साथै नेपालगञ्ज रोड, नानपारा, मटेरा र रिसियाको नयाँ स्टेशन भवन, प्लेटफर्म तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताए । उनले सो रेल लाइन र स्टेशनहरुको अन्तिम प्राविधिक निरिक्षण समेत गरिसकेको हुँदा केही दिनमै रेल सेवा सञ्चालनमा आउने तयारी चलिरहेको जनाए ।
यसअघि ५ अक्टोबर २०२५ मा नयाँ रेल लाइनको सुरक्षा निरीक्षण र स्पिड ट्रायल सम्पन्न भई १२० किलोमिटर प्रतिघण्टासम्मको गतिमा सफलतापूर्वक परीक्षण गरिएको थियो । साथै, प्रि–सीआरएस र सीआरएससम्बन्धी प्रक्रिया पनि भारतीय रेलका उच्च अधिकारीहरूबाट पहिल्यै सम्पन्न भइसकेको छ ।
रेल लाइन र स्टेशनको स्तरोन्नती पुरा भएर रेल सेवा सुचारु गर्ने तयारी अन्तिममा पुगेको बेला भारतको सीमा क्षेत्र तथा पश्चिम नेपालका नागरिकहरु उत्साहित देखिएका छन् ।
यस्तै, सीमापारी रुपईडिहामा लाइन विस्तार र नयाँ स्टेशन निर्माण गरिएपछि शुरु हुन थालेको ब्रडगेज रेल सेवाबाट नेपाली नागरिक र व्यवसायीलाई ठुलो लाभ मिल्ने जनाईएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यले बढी लाइनको रेल सेवा सञ्चानमा आएपछि भारतीय भन्दा बढी लाभ नेपालीलाई हुने बताए । उनले सो सेवाबाट रोजगारी र अन्य कामका लागि भारतका विभिन्न ठाउँमा जाने नेपालीहरुलाई जान सहज हुने र सस्तो भाडामा जान सकिने बताए ।
यस्तै नाकासम्म मालगाडी पनि चल्ने हुँदा नेपालगञ्जका व्यवसायीलाई भारतका विभिन्न सहरबाट कम भाडामै मालसामान ल्याउन सहज हुने र व्यापार व्यवसाय बढ्ने पुर्व अध्यक्ष वैश्यले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार