Listen LIVE

ब्राउन सुगरसहित लोनिया पक्राउ

नेपालगञ्ज : बाँकेको सीमावर्ती क्षेत्रबाट प्रहरीले १०५ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। लागूऔषधसहित एक जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले डुडुवा गाउँपालिका–२, बेतहनी क्षेत्रमा विशेष निगरानीका क्रममा डुडुवा गाउँपालिका–१ निवासी २८ वर्षीय राजेन्द्र लोनियालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लोनियाले दाहिने हातमा बोकेको कालो प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। परीक्षणका क्रममा उक्त लागूऔषधको तौल १०५ ग्राम ७१० मिलिग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित पक्राउ परेका लोनियाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने लागूऔषध ओसारपसार रोक्न विशेष निगरानी र लक्षित अपरेशनलाई निरन्तरता दिँदै आएको जनाएको छ। पछिल्ला दिनमा यस्ता अभियानलाई थप प्रभावकारी बनाइएकाले लागूऔषध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया