बर्दिया : बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढ्ने पक्का भएको हो ।
अर्थ मन्त्रालयले बबई नदीमा गुलरिया नगरपालिका–४ र बारबर्दिया नगरपालिका–११ जोड्ने पुलका लागि एक अर्ब १८ करोड स्रोत सुनिश्चित गरेको हो ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले स्रोत सुनिश्चितताको पत्र आएपछि हाल लागत अनुमान र बिडिङ डकुमेन्ट स्वीकृति गराउने काम भइरहेको जानकारी गराए । उनले अबको दुई साताभित्रै पुल निर्माणका लागि ठेक्का खोलिने र चालु आर्थिक वर्षमा पुलको ठेक्का प्रक्रिया सकिने बताए । पुल निर्माणका लागि चालु आवमा ११ करोड रकम विनियोजन गरिएको छ ।
सरकारले अघिल्लो आव २०८१/८२ मा जब्दीघाटमा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । २०८१ पुसमा बहुवर्षीय स्रोत सुनिश्चितता दिएको भए पनि पुल निर्माणका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले बनाउनुपर्ने स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट समयमा नबन्दा गत आवमा पुल निर्माणको ठेक्का प्रक्रिया सुरु भएको थिएन ।
पुल डिजाइन एन्ड ब्युल्ट मोडेलमा निर्माण हुने भएकोले पहिले नै स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट बनाउनुपर्ने व्यवस्था छ । स्रोत सहमति भएको वर्ष नै पुल निर्माण प्रक्रिया अगाडि नबढे अर्को आवमा पुनः स्रोत सहमति लिनुपर्ने व्यवस्था भएकोले पुल निर्माणमा ढिलाइ भएको हो ।
पुल निर्माण हुने भएपछि अहिले लामो समयदेखि आवतजावतमा समस्या भोगिरहेका बर्दियावासीमा खुशियाली छाएको छ । बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले पुल नहुँदा धेरै दुःख भएकोले तत्कालै पुल निर्माण प्रक्रिया थाल्नुपर्ने बताए ।
पुल निर्माणपछि बारबर्दिया नगरपालिका सिधै सदरमुकाम गुलरियासँग जोडिने छ । पुरानो पुल क्षति भएपछि हाल सो स्थानमा डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार