नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गत आर्थिक वर्ष २०८२/८३ मा परीक्षण गराएकामध्ये ८३ जना नयाँ व्यक्तिमा एचआईभी सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी तथा एचआइभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालले गत आवमा सात हजार ८०५ जना व्यक्तिमा एचआइभी परीक्षण गरिएकामध्ये ८३ जना नयाँ व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको बताए ।
उनले एचटिसी कार्यक्रमअन्तर्गत सात हजार ८०५ जनामा एचआइभी परीक्षण गरिएकोमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको र यसको सङ्क्रमण दर १ प्रतिशत रहेको बताए । ओपिडीबाट गरिएका परीक्षणहरु पनि समावेश गरिएकाले परीक्षण सङ्ख्या उल्लेखनीय रुपमा बढेको उनले बताए ।
त्यसैगरी आमाबाट शिशुमा एचआइभी रोकथामअन्तर्गत गर्भवती महिलालाई नियमित एचआइभी परीक्षण पनि गरिँदै आइएको छ । गत वर्ष दुई जना गर्भवती महिलामा एचआइभी सङ्क्रमण पुष्टि भएको डा. रिसालले जानकारी दिए ।
साथै उपचारमा रहेका चार जना एचआइभी सङ्क्रमित आमाले सुरक्षित रूपमा शिशु जन्माएका उनले बताए । परीक्षण सम्पन्न भएका शिशुहरूको पहिलो डिएनए पिसिआर परीक्षणमा सङ्क्रमण नदेखिएको उनले बताए ।
सरकारले सन् २०१७ देखि लागू गरेको टेस्ट एण्ड ट्रिट नीतिअनुसार एचआइभी पुष्टि भएपछि तुरुन्तै उपचार सुरु गरिँदैआएको उनले बताए । उनका अनुसार भेरी अस्पतालले स्थापना भएदेखि हालसम्म एक हजार ८०० भन्दा बढी व्यक्तिलाई एआरटी सेवा प्रदान गरिसकेको छ । गत आवसम्म ६५१ जना सेवाग्राही नियमित उपचारमा रहेका छन् ।
नियमित उपचारमा रहेका कारण ९५ प्रतिशत सेवाग्राहीले पछिल्लो १२ महिनामा भाइरल लोड परीक्षण गराएका छन् । तीमध्ये ९९ प्रतिशतको भाइरल लोड सफलतापूर्वक नियन्त्रणमा रहेको उनले बताए ।
सरकारले एचआइभीसँग बाँचिरहेका व्यक्तिहरूका लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भेरी अस्पताल एआरटी क्लिनिकले हालसम्म ६३१ भन्दा बढी सेवाग्राहीलाई यस सरकारी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिसकेको छ । उनीहरूले यस कार्यक्रममार्फत स्वास्थ्य सेवा प्राप्त गरिरहेका उनले बताए ।
उनका अनुसार भेरी एआरटी क्लिनिकले डिएचआइएसटु ट्र्याकर प्रणालीमा सबै सेवाग्राहीको विवरण अद्यावधिक गरेको छ । हालसम्म ३८५ जना सेवाग्राहीले क्षयरोग रोकथामका लागि आइपीटीको एक चरण पूरा गरेका छन् । नयाँ पहिचान भएका सबै -शतप्रतिशत) एचआइभी सङ्क्रमितलाई समयमै एआरटी सेवामा आबद्ध गरिएको छ ।
एएचएफ नेपालले भेरी अस्पताल एआरटी क्लिनिकमा चार जना दक्ष जनशक्ति र सेवाग्राहीहरूलाई यातायात सहयोग, प्रयोगशाला परीक्षण सहयोग, पोषण तथा आवश्यक औषधि सहयोग, जटिल केस व्यवस्थापन सहयोगहरु निरन्तर उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।
भेरी अस्पतालमा एआरटी सेवा २०६१ साल फागुनबाट सञ्चालनमा आएको हो । त्यसपछि क्रमशः २०६२, २०६३ र २०६४ सालमा पिएमटिसिटी, भिसिटी तथा सिडीफोर सेवाहरू थप गरी एचआईभीसम्बन्धी समग्र सेवा उपलब्ध गराउन थालिएको डा. रिसालले जानकारी दिए ।
डा. रिसालका अनुसार भेरी अस्पताल एआरटी क्लिनिकले विगत तीन आर्थिक वर्षदेखि न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा शतप्रतिशत अंक प्राप्त गर्दैआएको छ । यसले भेरी अस्पताललाई केन्द्रस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्नसमेत महत्वपूर्ण योगदान दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार