धनगढी : सुदूरपश्चिम प्रदेश सुरक्षा समितिले भोटेकोशी नदीको बाढी विपदमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले सुदूरपश्चिममा बाढी तथा विपदको सम्भावनालाई मध्यनजर गर्दै प्रदेशका सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ ।
बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले भोटेकोसीमा आएको बाढीमा सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
उनले खोज तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन र संयन्त्रको अधिकतम प्रयोग गर्दै सम्भव भएसम्मका सबै उपाय अवलम्बन गर्न आग्रह गरे । साथै, सुदूरपश्चिम प्रदेशमा हुन सक्ने बाढी तथा अन्य विपद्को सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन र चनाखो बन्न समेत उनले निर्देशन दिए ।
बैठकमा मुख्यमन्त्रीले नेपाल–भारत सीमामा देखिने समस्या तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डंगौरा थारुसहित चारवटै सुरक्षा निकायका यस प्रदेशका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार