Listen LIVE

बाँकेमा ३३ केभीए प्रशारण लाइनलाई तीव्रता दिइने

नेपालगञ्ज : बाँकेको खजुरा र जानकी गाउँपालिकामा निर्माणाधीन ३३ केभी प्रसारण डिस्ट्रिब्युसन लाइन तथा सबस्टेशन परियोजनालाई तीव्रता दिन सरोकारवालाबिच समस्या पहिचान गरी समाधान गर्ने सहमति भएको छ । परियोजना कार्यान्वयनमा देखिन सक्ने अवरोध न्यूनीकरणका लागि नेपाल विद्युत् प्राधिकरण, एआइआइबी आयोजना, स्थानीय तह र निर्माण पक्षबिच छलफल तथा समन्वय गरेर उक्त सहमति गरिएको हो ।

छलफल तथा सहमति हुनुअघि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफान, नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्र, एआइआइबी फिल्ड इन्चार्ज राजकुमार बोहरा, खजुरा उपवितरण केन्द्र इन्चार्ज दिनेश कुमार वली र निर्माण व्यवसायी त्रिलोक धितालसहितको टोलीले परियोजना स्थलको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पालिका प्रमुख र वडा अध्यक्षहरूसँग छुट्टाछुट्टै छलफल गरी सरोकारवाला पक्षको सहभागितामा रुट क्लियर गर्दै समस्या समाधान गरिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।

हाल खजुरा क्षेत्रमा एउटा मात्र ११ केभी फिडरमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । नेपालगञ्ज वितरण केन्द्र प्रमुख मिश्रका अनुसार सबस्टेशन सञ्चालनमा आएपछि चारवटा ११ केभी फिडर सञ्चालनमा आउनेछन्, जसले खजुरा र आसपासका क्षेत्रमा भरपर्दो र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित् गर्नेछ ।

सो परियोजना सम्पन्न भएपछि वितरण क्षमता सुदृढ भई विद्युत् आपूर्ति प्रणाली मजबुत हुने, ऊर्जा गुणस्तरमा सुधार आउने र लाइन हानि न्यून हुने खजुरा उपवितरण केन्द्रका इन्चार्ज दिनेश कुमार वलीले बताए ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त परियोजनालाई तीव्ररुपमा सम्पन्न गरिने गरि काम अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र ३३ केभी लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।  परियोजना सम्पन्न भइ लाइन सञ्चालनमा आएपछि हरेक वर्ष गर्मी मौसममा देखिने विद्युत् आपूर्ति समस्या समाधान हुने र उद्योग, व्यवसाय तथा सर्वसाधारणलाई राहत पुग्ने नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया