नेपालगञ्ज : नेपालगञ्जमा बृहद् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । लाइफ लाइन जनरल हस्पिटल प्रालि नेपालगञ्ज र परिवर्तन समूहको संयुक्त आयोजनामा सर्खेतरोडस्थित गुरुद्वारामा सञ्चालन गरिएको शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिरहेका छन् ।
शिविरमा भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, ईएनटी सर्जन डा. दिनेश चौधरी, नेपालगञ्ज स्किन सेन्टरका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. अभिषेक अर्जेल, खजुरा क्यान्सर अस्पतालका मूत्ररोग विशेषज्ञ डा. प्रविन गुप्ता, फिजिसियन डा. त्रिस्टिन श्रेष्ठ, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला विशेषज्ञ डा. पारस श्रेष्ठसहित अन्य मेडिकल अफिसरहरूको टोलीले सेवा दिइरहेको छ ।
शिविरमा आँखा जाँच, निःशुल्क औषधि वितरण, ल्याब सेवा लगायतका स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको शिविरका संयोजक दन्त चिकित्सक डा. प्रतिक श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार पछिल्लो समय कम उमेरमै मुटु, मिर्गौला लगायत दीर्घ रोगका बिरामी बढ्दै गइरहेका छन् । जनचेतनाको कमी तथा स्वास्थ्यप्रति बेवास्ताका कारण रोग जटिल बन्दै गएको भन्दै समयमै रोग पहिचान र नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए ।
आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य पनि शिविरको रहेको आयोजकले जनाएको छ ।
शिविरसँगै रक्तदान कार्यक्रम पनि सञ्चालन भइरहेको छ । जिल्लामा बेला–बेलामा देखिने रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा शिविर स्थलमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
शिविरमा नेपाल चिकित्सक संघ बाँके, नेपाल रेडक्रस सोसाइटी तथा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ को सहकार्य रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार