Listen LIVE

कविता सङ्ग्रह विमोचनसँगै स्रष्टा संवाद

नेपालगञ्ज : कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ को विमोचन गरिएको छ । कृतिको मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्तरूपमा विमोचन गरे । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नयाँघरेले कोहलपुर क्षेत्र साहित्यिक गतिविधिको उर्वर भूमि बनेको उल्लेख गर्दै नयाँ स्रष्टालाई राष्ट्रियस्तरमा चिनाउन पूर्णिमा साहित्य प्रतिष्ठानले उल्लेखनीय भूमिका खेल्दै आएको बताए । उनले संस्थाको निरन्तर साहित्यिक सक्रियताको प्रशंसा पनि गरे । पुस्तक र कविको परिचय साहित्यकार सागर गैरेले विस्तृतरूपमा गराए । पुस्तक विमोचनसँगै आयोजित स्रष्टा संवाद कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले आफ्ना साहित्यिक अनुभव र लेखनशैलीबारे मन्तव्य राखे । उनले लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य तथा लोकसंस्कृतिको अपार भण्डार भए पनि त्यसमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

नयाँघरेले निबन्ध र नियात्रा कोरा विवरण नभई अनुभूतिको सरस अभिव्यक्ति हुनुपर्ने बताउँदै साना साना जीवन अनुभव समेटिन सक्दा निबन्ध उत्कृष्ट बन्ने विचार व्यक्त गरे । पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. रिजालले नयाँघरेका निबन्ध मौलिक, प्रयोगशील, सरल र विशिष्ट रहेको बताए । उनले नयाँघरेका रचनामा भाषिक कौशल र नेपाली जातीयताको सम्मोहक सौन्दर्य पाइने उल्लेख गरे ।

प्रतिक्रिया