नेपालगञ्ज : पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा पहिलो पटक अत्याधुनिक ल्याबसहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गरिँदै छ । नेपालगन्जस्थित एचसीआरसी अस्पतालले नेपालगञ्जको पहिलो टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न आइभीएफ ल्याब सेटिङमा जुटेको सो अस्पतालका निर्देशक रमेश सिटौलाले बताए ।
उनले यसै वर्ष अत्याधुनिक आइभीएफ ल्याबसहितको टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्ने उद्देश्यले भारतको लखनउमा आवश्यक जनशक्तिलाई प्रशिक्षण दिने कार्य भइरहेको बताए । एचसीआरसी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा बाँझोपन विशेषज्ञ डा.मञ्जु बिसी शाहको नेतृत्वमा भारतको लखनउस्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टरमा प्रशिक्षण भइरहेको जानकारी दिँदै अस्पतालका निर्देशक सिटौलाले जानकारी दिइन् ।
टेष्ट ट्युब बेबी सेन्टर स्थापनाका लागि आवश्यक उपकरण ल्याउने काम सुरु भइसकेको जनाउँदै एचसीआरसी अस्पतालका प्रमुख डा.कुमारसान शाहले पश्चिम नेपालमै निःसन्तानपनको उपचारका लागि नेपालगञ्जमा टेष्ट ट्युब बेबी सेन्टर स्थापना गर्न लागिएको बताए ।
अस्पताल प्रमुख डा.शाहले थपे, ‘त्यसका लागि भारतको लखनउस्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर (आइभीएफ)सँग प्राविधिक सहकार्य गरिरहेका छौँ, निःसन्तानपन नेपाली दम्पतीको ठुलो समस्या भएकाले सो समाधानका लागि नेपालगन्जमै सहज र सहुलियतमा उपचार दिने अत्यधिक प्रयास भइरहेको छ ।’
यसैबिच, टेस्ट ट्युब बेबी सेन्टर स्थापनाको अवस्था बुझ्न भारतको लखनउस्थित इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर आइभीएफका वरिष्ठ महिला प्रसूति तथा बाँझोपन विशेषज्ञ डा.ज्योति सिंहसहितको एक टोली नेपालगन्ज आएर फर्किएको छ । डा.सिंहसहितको सो टोलीले गत शनिबार अस्पतालमा आयोजना गरिएको निःशुल्क निःसन्तानपन उपचार परामर्श शिविरमा यस क्षेत्रमा महिलालाई निःशुल्क परामर्श सेवा पनि दिएको थियो ।
एचसीआरसी अस्पतालले दिएको जानकारी अनुसार, प्रसूति तथा बाँझोपन विशेषज्ञ डा.मञ्जु बिसी शाह र भारतको इन्दिरा टेष्ट ट्युब बेबी सेन्टर आइभीएफका वरिष्ठ महिला प्रसूति तथा बाँझोपन विशेषज्ञ डा.सिंहले त्यहाँ आएका महिलालाई परामर्श दिएको अस्पतालका निर्देशक सिटौलाले जानकारी दिएका छन् ।
उनका अनुसार शिविरमा १२४ जना महिलाले परामर्श सेवा लिएका थिए । जसमध्ये ११५ जनामा बाँझोपन निःसन्तानपन सम्बन्धी समस्या देखिएको थियो । ९ जनाले प्रजनन् सम्बन्धी परामर्श लिएका थिए । सो शिविरमा बाँके, बर्दिया, दाङ, सुर्खेत, सल्यान, दैलेख, कालिकोट र रुकुमका निसन्तान महिला परामर्शका लागि आएको अस्पतालले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार