Listen LIVE

भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप

नेपालगञ्ज : तराइका जिल्लामा सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पको उपचार हुने नेपालगञ्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ । अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।

लुम्बिनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लास्थित अस्पतालबाट रेफर भएर सर्पले टोकेका बिरामी उपचारको लागि आउन थालेपछि भेरी अस्पताल भरिभराउ हुन थालेको हो ।

सर्पले टोकेर समयमा अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुकमा नलाग्न अस्पतालमा भेटिएका बिरामीहरूले सुझाव दिएका छन् ।

सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ । यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा आएर ज्यान जोगाउन सफल भएको बिरामीका आफन्त पूजा परियारको भनाई छ ।

भेरी अस्पतालको तथ्याङ्क हेर्ने हो भने यसबर्ष बिरामीको चाप बढ्नुका साथै गतबर्ष भन्दा दोब्बर बढीको सर्पदंशका कारण मृत्यु भइसकेको छ । यसबर्ष वैशाख देखि हालसम्म बिषालु सर्पले टोकेका १ सय २० जनाभन्दा बढी बिरामीको उपचार भएको छ । अस्पताल आउँदा आउँदै र उपचारकै क्रममा १६ जनाको ज्यान गएको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डाक्टर पारस पाण्डेले बताए ।

नेपालमा गोमन करेट र भाइपर प्रजातिका बिषालु सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ । गोमन र करेट सर्पले टोक्दा न्युरो टक्सेभेनोममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसका कारण मानिसहरूको मृत्यु हुने जोखिम धेरै हुन्छ ।

भाइपर सर्पमा हेमोटक्सिन हुन्छ जसले शरीरमा रगतलाई खराब गर्छ । भेरी अस्पतालले तराईमा पाइने कोब्रा करेट जस्ता सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ । भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने रगत बग्ने कलेजो र मृगौलामा असर पार्दा डाइलासिस गरि रगत चढाएर उपचार गर्ने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया