Listen LIVE

जेनजी शहिदको स्मृतिमा नेपालगञ्जमा पार्क निर्माण

नेपालगञ्ज : गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका दुई युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको शालिकसहित पार्क निर्माण गरिएको छ । अर्धकदको सालिक स्थापना गरी शुक्रबार उदघाटन गर्ने तयारी गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ का आयुषराज थापा र सुलभ श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योगा भवन तथा खुला व्यायामशाला निर्माण गरेको हो ।

लुम्बिनी प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा करिब ५० लाख रुपैयाँ लागतमा योगा भवन निर्माण गरिएको हो । यसैगरी १० लाख रुपैयाँको लागतमा खुला व्यायामशाला निर्माण गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

उनले भने, 'देशको परिवर्तनका लागि सहादत प्राप्त गर्ने वडाका होनहार युवाहरूको स्मृतिमा अर्धकदको शालिकसहित स्मृति भवन निर्माण गरेका छौँ ।'

पहिलो चरणमा सिमेन्टको अर्धकदको शालिक निर्माण गरिएको र आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ढलोटको सालिक बनाउने तयारी रहेको वडा अध्यक्ष रिजालले बताए ।

नेपालगञ्जका स्थायी बासिन्दा श्रेष्ठ र थापाको गत भदौ २३ गते राजधानीमा जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो ।

वडा कार्यालयले यसअघि दुवै शहिदको स्मृतिमा 'शहिद मार्ग'समेत नामाकरण गरिसकेको छ । शहिद स्मृतिमा अर्धकदको शालिकसहितको भवन उदघाटनपछि खुला ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया