Listen LIVE

दाङका रिहारमा भक्तजनको घुइँचो

दाङ : लमही नगरपालिका–९ रिहारमा अवस्थित बगार बाबा धामस्थित तप्त कुण्डमा मकर स्नान गर्न भक्तजनको ठूलो भीड लागेको छ । देशका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतका विभिन्न सहरबाट समेत तीर्थयात्रीहरू यहाँ आइपुगेका छन् ।

बिहानैदेखि तप्त कुण्डमा स्नान गर्ने, पूजा–अर्चना गर्ने तथा मनोकामना माग्ने भक्तजनको घुइँचो लाग्दा धाम क्षेत्र निकै चहलपहलपूर्ण बनेको धाम व्यवस्थापन समितिका सचिव नन्दलाल वली (नवीन)ले जानकारी दिए ।

सरकारले पर्यटन गन्तव्यका १०० सूचिमा समावेश गरेको यो धाम धार्मिक आस्था, अध्यात्म र इतिहाससँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा परिचित छ । द्वापरयुगसँग सम्बन्धित मानिने रिहार धाम पछिल्ला वर्षहरूमा झन् आकर्षणको केन्द्र बन्दै गएको छ ।

स्थानीय जनश्रुति तथा मान्यताअनुसार रिहार क्षेत्र द्वापरयुगमै ऋषि–मुनिहरूले तपस्या गर्ने महत्वपूर्ण तपोभूमि थियो। बगार क्षेत्रका साधु–सन्तहरूले दीर्घकालसम्म यज्ञ, जप, साधना र आराधना गरेको धार्मिक कथनहरू प्रचलनमा छन् ।

तप्त कुण्डको पानीले रोग–व्याधि निको पार्ने, शरीर शुद्ध गर्ने र मनोकामना पूरा हुने विश्वासले यसको धार्मिक महत्त्व अझ बढाएको छ । मकर सङ्क्रान्तिको अवसरमा तप्त कुण्डमा स्नान गर्नाले पुण्य फल प्राप्त हुने मान्यताका कारण यस समयमा भक्तजनको उपस्थिति अत्यधिक बढ्ने गर्दछ ।

प्रतिक्रिया