नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नरैनापुर गाउँपालिकामा मतदाता शिक्षा अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । बदर मत न्यून गर्न स्वयंसेवकहरू गाउँबस्ती तथा घर–घरमै पुगेर मतदातालाई सचेत बनाइरहेका छन् ।
नरैनापुर गाउँपालिका–१ की मतदाता रिना यादवले स्वयंसेवकहरू समयमै गाउँमा आएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । कार्यक्रममा सहभागी भएपछि यसपटक आफ्नो मत बदर नहुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । “मत कसरी बदर हुन्छ, मतपत्रमा सही तरिकाले कसरी मतदान गर्ने र आफ्नो मत आफैं कसरी खसाल्ने भन्ने कुरा स्पष्ट बुझ्न पाएँ,” उनले भनिन् ।
मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि सुरु गरिएको नरैनापुर गाउँपालिकाकी सूचना प्रविधि अधिकृत तथा मतदाता शिक्षा अनुगमनकर्ता जुना शाहीले जानकारी दिइन् । सुरुमा बस्ती–बस्तीमा पुगेर सामूहिकरूपमा शिक्षा दिइएको र हाल घर–घरमै पुगेर मतदातालाई सचेतना प्रदान भइरहेको उनले बताइन् ।
“मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्यसामग्रीमार्फत मतदान प्रक्रिया, मत बदर हुने अवस्था र त्यसबाट जोगिने उपायबारे जानकारी गराइरहेका छौं,” शाहीले भनिन् । मतदाताले विषयवस्तु राम्रोसँग बुझेको देखिएकाले बदर मत घटाउन अभियान प्रभावकारी हुने विश्वास लिइएको उनको भनाइ छ ।
गाउँबस्तीका मतदाताले समय दिएर सहयोग गरेकोमा सन्तुष्टि व्यक्त गर्दै उनले फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम जारी रहने जानकारी दिइन् ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बनाउन नरैनापुरमा सञ्चालन भइरहेको घर–घर मतदाता शिक्षा अभियानले यसपटक बदर मत उल्लेख्यरूपमा घटाउने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार