नेपालगञ्ज : पाटेबाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको हो । पाटेबाघको आक्रमणबाट उनको शनिबार दिउँसो मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार गाई चराउन गएका बेला शनिबार दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो । ‘हामीसँगै गाई ग्वाला गएका थियौं, बाघले एक्कासी आक्रमण गर्यो, हामी चिच्याउँदा–चिच्याउँदै पनि बाघले लग्यो,’ प्रत्यक्षदर्शी पिमलाल डाँगीले भने । बाघले आफुहरुलाई समेत आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
घटना सार्वजनिक भएपछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायतको टोली जंगलमा पुगेर शब फेला पारेको उनले बताए ।
‘बाघले घाँटी र टाउकोमा आक्रमण गरेको छ, शरीरको अन्य भागमा कतै चोट देखिँदैन,’ घटनास्थलमा पुगेका एक ब्यक्तिले भने । उक्त क्षेत्र पुर्व–पश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ पहाडमा पर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार