Listen LIVE

नाकाको भारतीय क्षेत्रमा फेस डिटेक्सन क्यामेरा जडान

नेपालगञ्ज : नेपाल भारत सीमा नाकाको भारततर्फ रुपइडिहामा रहेको चेकपोष्टमा भारतीय सुरक्षा निकाय एसएसबीले सुरक्षा कडा पार्दै पहिलो पटक फेस डिटेक्सन क्यामेरा जडान गरेको छ ।

भारत र नेपालबाहेक अन्य देशका नागरिक अवैधरूपमा भारत प्रवेश गर्न नपाउन भन्ने उद्देश्यले भारत–नेपाल सीमामा सशस्त्र सीमा बल (एसएसबी) ले फेस डिटेक्सन क्यामेरा जडान गरेको एसएसबीका कमान्डेण्ट गंगासिंह उरावतले बताए । 

उनले सीमामा घुसपैठ रोक्न तथा विभिन्न अपराधिक गतिविधी गरेर एक अर्काको देशमा पुगि लुकेर बस्नेहरुमाथि निगरानी बढाउन यो व्यवस्था सुरु गरिएको बताए । 

अहिले सो नाकाबाट आवागमन गर्नेहरुले एकछिन उभिएर क्यामेरामा अनुहार देखाउनुका साथै आफ्नो आधिकारिक परिचयपत्रलाई पनि एकछिन क्यामेरामा देखाएर रेकर्डिङ गराउनु पर्ने व्यवस्था गरिएको छ ।    

एसएसबीका अनुसार यस प्रणालीबाट आवागमन गर्नेलाई अलिकति बढी समय लाग्ने भए पनि सुरक्षाको दृष्टिकोणले यो निकै आवश्यक र प्रभावकारी रहेको छ । 

रुपइडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले केन्द्रबाट आएको निर्देशन अनुसार यो नाकाको सुरक्षा व्यवस्था कडा पार्नकै लागि फेस डिटेक्सन क्यामेराबाट हरेकको अनुहार र परिचयपत्रको डिजिटल रेकर्डिङ गर्न थालिएको बताए ।

प्रतिक्रिया