Listen LIVE

पाँच वर्षदेखि अलपत्र बर्दियाको नगर अस्पताल

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा निर्माणाधीन १० शय्याको नगर अस्पताल पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयमै अस्पताल भवन निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा अझै पूरा हुन सकेको छैन । गेरुवा गाउँपालिका–६ मा निर्माण भइरहेको अस्पताल भवनको जिम्मा गौरा नेपाल मेगा–वीरेन्द्र अमर जेभीले २०७८ जेठमा पाएको थियो । 

पाँच करोड २४ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त अस्पताल २०७९ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाका अनुसार निर्माण कम्पनीले गरेको कामका आधारमा भुक्तानी हुँदै आएको छ । हालसम्म भएको प्रगति अनुसार रकम पनि भुक्तानी भइसकेको छ । बजेट अभाव वा भुक्तानी रोकिएकाले काम प्रभावित नभएको उनको भनाइ छ ।

रानाले भने, æसुरुमा जग्गा प्राप्तिसम्बन्धी केही समस्या थियो तर अहिले त्यस्तो कुनै अवरोध छैन । ठेकेदारले बिल अनुसारको भुक्तानी लिएपछि मतलब गर्न छाडेको छ । कामलाई निरन्तरता दिनुपर्ने हो तर काममा ध्यान दिएको छैन र पछिल्लो समय सम्पर्कविहीन जस्तै बनेको छ ।Æ

गाउँपालिकाले निर्माण कम्पनीलाई पटक पटक काम तीव्र बनाउन लिखित आग्रह गरेको जनाएको छ । सूचना अधिकारी कुननारायण चौधरीका अनुसार निर्माण सम्पन्न गर्न विभिन्न चरणमा म्याद थप गरिएको छ । उनले हाल थपिएको म्याद आगामी मङ्सिरसम्म रहेको जानकारी दिए ।

निर्माणस्थलका साइट इन्चार्ज भूमिराज घिमिरेका अनुसार पछिल्ला दुई महिनादेखि निर्माण पूर्ण रूपमा ठप्प छ । अस्पताल भवनका लागि निर्माण गरिने दुई ब्लकमध्ये एउटा मात्र ढलान भएको छ भने अर्को ब्लकको अधिकांश काम बाँकी छ ।

गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले निर्माण कम्पनीको ढिलासुस्तीका कारण स्वास्थ्य पूर्वाधार निर्माण प्रभावित भएको बताए । उनले भने, 'अन्य स्थानीय तहका नगर अस्पताल सञ्चालनमा आइसकेका छन् तर हाम्रो अस्पताल अझै अधुरो छ । अब पनि काममा प्रगति नदेखिए कानुनी कारबाही प्रव्रिmया अघि बढाइने छ ।'

निर्माण कम्पनीका प्रतिनिधि नारायण क्षेत्रीले भने निर्माण सामग्री निर्माणस्थलमा पु¥याइसकिएको र केही दिनभित्रै काम पुनः सुरु हुने दाबी गरे । उनले काम गर्दागर्दै बिचको समयमा बजेट निकासामा ढिलाइ हुँदा समस्या भएको बताउँदै थपिएको म्यादभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पताल भवन निर्माण सम्पन्न नहुँदा गेरुवा गाउँपालिकाका बासिन्दा अझै पनि उपचारका लागि राजापुर नगर अस्पताल वा बर्दिया अस्पताल गुलरियामा जान बाध्य छन् । जिल्लाकै विकट मानिने गेरुवामा अस्पताल सञ्चालनमा ढिलाइ हुँदा स्थानीय स्वास्थ्य सेवा विस्तारको लक्ष्यसमेत प्रभावित बनेको छ ।

प्रतिक्रिया