Listen LIVE

निर्वाचन मानवअधिकारमैत्री बनाउन राष्ट्रिय मानवअधिकार आयोगको आह्वान

नेपालगञ्ज : राष्ट्रिय मानवअधिकार आयोगले आसन्न निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष र मानवअधिकारको सम्मान हुने वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरेको छ।

नेपालगञ्जस्थित आयोगको कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख द्वारिका अधिकारीले निर्वाचन अवधिमा अवाञ्छित गतिविधि नगर्न र नगराउन आग्रह गरे। उनले नागरिकका मौलिक अधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउँदै निर्वाचनलाई भयमुक्त बनाउन राजनीतिक दल, उम्मेदवार, राज्य संयन्त्र र नागरिक समाज सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे। सामाजिक–सांस्कृतिक सद्भावमा असर पर्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न पनि उनले सरोकारवालासँग अपिल गरे।

आयोगले बाँके, बर्दिया र दाङ जिल्लामा स्थलगत अनुगमन गर्ने जनाएको छ। आयोगका अधिकृत दयाराम पाठकको नेतृत्वमा निर्वाचन डेस्क स्थापना गरिएको जानकारी दिइयो।

कार्यक्रममा अधिकारकर्मी आलम खानले निर्वाचन आचारसंहिताविपरीत गतिविधि गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। सचेत र जिम्मेवार मत प्रयोग गर्न नागरिकलाई आग्रह गर्दै उनले सवारी पास वितरण सूचना विभागको सिफारिसमा हुनुपर्नेमा जोड दिए।

त्यसैगरी अनौपचारिक सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश प्रमुख भोला महतले निर्वाचनलाई मानवअधिकारमैत्री र पारदर्शी बनाउन सहकार्य आवश्यक रहेको बताए। नेपाल बार एशोसिएसन बाँकेका अध्यक्ष पवन गुप्ताले निर्वाचन कानूनको पालना र विधिको शासन कायम राख्न कानुनी क्षेत्रको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रममा मानवअधिकारकर्मी र पत्रकारहरूको सहभागिता थियो।

प्रतिक्रिया