नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन् । रास्वपाको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको अधिवेशनमा चार जना उम्मेदवारमध्ये कसैले पनि सो मत कटाउन सकेका थिएनन् ।
शनिबार बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबीच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित गरिएको हो । रास्वपा बाँकेका नेता बुद्धिसागर सुवेदीले दुई प्रतिस्पर्धीबीच भएको छलफल र सहमतिका आधारमा श्रेष्ठलाई जिल्ला सभापति घोषित गरिएको जानकारी दिए ।
शनिबारको मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए ।
यसैगरी उपसभापति पदमा ईश्वरी लामीछाने ११९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे । सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे । सहसचिव पदमा फारुक गुज्जर निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, जातीय प्रतिनिधि सदस्यतर्फ डा. कमर जहाँ १२१ मत र दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भएकी छन् । उनीहरूका प्रतिस्पर्धी क्रमशः शहजाद अली जोलाहले ५७ र मनोज नेपालीले ३७ मत प्राप्त गरे । खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मतसहित निर्वाचित भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार