Listen LIVE

महिलाहरूका एजेण्डामा राईको विशेष जोड

नेपालगञ्ज : निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं २ का सबै मतदातासम्म पुग्न सक्रियता बढाएका छन् । उम्मेदवार राईले आज नेपालगञ्जको वडा नं १ का विभिन्न टोलहरूमा घरदैलो गरेका छन् । 

वडा नं १ को चन्दननाथ टोल, दीपज्योति टोल, पिपल चौतारा टोल लगायतमा एमालेका उम्मेदवार राईले घरदैलो गरेका हुन् । सहरी विकास मन्त्री र भौतिक मन्त्री हुँदा वडा नं १ मा विकासका थुप्रै परियोजनाहरू ल्याएका राईलाई घरदौलोका क्रममा मतदाताहरूले वडाका समस्याहरू सुनाएका थिए ।

घरदैलोपछि वडा नं १ कै सुन्दर टोलमा चुनावी कोणसभा आयोजना गरिएको थियो । जहाँ उम्मेदवार राईले महिलाहरूका एजेन्डामा आफूलाई केन्द्रित गरेका थिए । उनले महिलाहरूको सशक्तिकरण, शिक्षा र स्वास्थ्यमा उनीहरूको सहज पहुँच तथा  सहज जीवनयापनका उपायका सन्दर्भमा चर्चा गरेका थिए । 

‘महिला सशक्तिकरणका सवालमा हामी तुलनात्मकरूपमा पछाडि छौं । मातृ मृत्युदर लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ । त्यसमा पनि बाँकेमा धेरै रहेछ । समयमै प्रसुति सेवा नपाउँदा धेरैले ज्यान गुमाउनु परेको छ ।’, राईले भने, ‘ म स्थानीय तहहरूमा सुविधासम्पन्न प्रसुति सेवा विस्तार गर्न प्रयास गरिरहेको छु ।’ उनले भेरी अस्पतालमा भौतिक संरचना निर्माणमा प्रगति भएपनि विशेषज्ञ सेवाको अझैं पनि अभाव रहेको बताए । 

राईले वडा नं १ मा विकासका मामिलामा सुन्दर टोल सबैभन्दा पछाडि परेको महशुस आफूले गरेको स्वीकार्दै राईले निर्वाचित भएपछि त्यस टोलको बाटोघाटो, नाला लगायत संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच राईले आजै यस क्षेत्रका बुद्धिजीविहरूसँग पनि छलफल गरेका छन् । यहाँको शैक्षिक विकासका सम्बन्धमा बुद्धिजीविहरूबाट प्राप्त सुझावअनुसार आफू अघि बढ्ने राईले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया