Listen LIVE

बागमतीको मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत

काठमाण्डौ : मुख्यमन्त्री बहादुरसिंह लामा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा पराजित भएका छन् । मंगलबार प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । 

मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात २२ सांसद देखिए ।

बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए। मंगलबार मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका थिए । यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसकेका छन् । उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेका थिए । तर मंगलबार संसदीय दलको नेतामा पराजित भएसँगै उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।

बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

प्रतिक्रिया