Listen LIVE

स्वर्गीय पत्रकार वैश्यको पुण्यतिथिमा विद्यार्थीहरूलाई सहयोग

नेपालगञ्ज : नेपालगञ्जका वरिष्ठ पत्रकार स्व. रामगोपाल वैश्यको आठौं पुण्यतिथीका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै न्यानो कपडा वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार वैश्यकी श्रीमती शिवदेवी वैश्यको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री चन्द्रमेवालाल विद्यालयका १० जना, महेन्द्र माध्यमिक विद्यालयका ५ जना गरी कुल १५ जना विद्यार्थीहरूलाई जुत्ता र मोजा प्रदान गरिएको थियो भने महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो स्कूल ड्रेस वितरण गरिएको थियो ।

कार्यक्रममा अतिथिहरूले शुभकामना तथा धन्यवाद व्यक्त गरेका थिए । श्री चन्द्रमेवालाल स्कूलकी प्रधानाध्यापिका संगीता पन्थीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिन् । महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप कुमार साहले पुण्यतिथीका अवसरमा सामग्री प्रदान गर्ने परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।

क्रममा युनेस्को नेपालको राष्ट्रिय आयोगकी सदस्य (बेबी)तबस्सुम अन्सारीले वरिष्ठ पत्रकार वैश्यले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणीय, उदाहरणीय र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताइन् । उनले जाडो याममा गरीब र जेहेन्दार बालबालिकालाई जुत्ता, मोजा र न्यानो ड्रेस प्रदान गर्ने कार्यप्रति अध्यक्ष शिवदेवी वैश्य तथा उनको परिवारलाई हार्दिक आभार व्यक्त गरिन् ।

कार्यक्रममा स्वर्गीय वैश्यका माइला छोरा विजय गुप्ताले आफ्नो क्षमताअनुसार विद्यार्थीहरूलाई सहयोग गरेको बताए । कान्छो भाइ पत्रकार भरत वैश्यले यस कार्यक्रमले स्वर्गीय पत्रकार वैश्यको स्मृतिमा सामाजिक सेवाको निरन्तरता दर्साउँदै गरिब र जेहेन्दार परिवारलाई केही हदसम्म टेवा पुगेको बताए ।

प्रतिक्रिया