Listen LIVE

हर्रेमा विषादी परीक्षण शुरु, कपुरकोटमा तयारी

सल्यान : कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न सुर्खेतको हर्रेमा विषादी अवशेक्ष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ । सल्यानको कपुरकोटमा निर्माण गरिएको प्रयोगशालामा आवश्यक उपकरण पुगिसकेको र प्राविधिक जनशक्ति व्यवस्थापनको काम अघि बढेकाले छिट्टै परीक्षण सेवा सुरु गर्ने तयारी गरिएको छ ।

कर्णाली प्रदेशमा बाहिरी जिल्लाबाट भित्रिने तरकारी तथा फलफूलको प्रमुख प्रवेश नाका हर्रेमा प्रयोगशाला सञ्चालनमा आएपछि कृषि उपजमा रहेको विषादीको अवस्था नाकामै परीक्षण गर्न सकिने भएको छ । कपुरकोटमा प्रयोगशाला सञ्चालनमा आएपछि भने उत्पादन क्षेत्रबाट बजारमा पठाउनुअघि नै कृषि उपजमा रहेको विषादी अवशेष परीक्षण गर्न सकिनेछ ।

कृषि विकास कार्यालय, सल्यानका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सल्यानबाट आठ हजार ४८७ मेट्रिक टन ताजा तरकारी जिल्ला बाहिर निकासी भएको छ । उक्त तरकारीबाट ४९ करोड ७६ लाख रुपियाँ बराबरको कारोबार भएको कार्यालयको तथ्याङ्क छ ।

कृषि विकास कार्यालय, सल्यानका प्रमुख महेश आचार्यका अनुसार जिल्लाबाट निकासी हुने कृषिजन्य वस्तुको प्रमुख उत्पादन क्षेत्रमध्ये कपुरकोट र बागचौर नगरपालिका पर्दछन् । कपुरकोट, कालिमाटी र सल्लीबजार क्षेत्रबाट उत्पादित कृषि उपज दाङ, नेपालगञ्ज, सुर्खेत र काठमाडौँ लगायतका बजारमा पुग्ने गरेको उनले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सल्यानबाट आठ हजार ४६५ मेट्रिक टन अदुवा ४० करोड २० लाख रुपैयाँ, आठ हजार २५० मेट्रिक टन आलु २३ करोड ५० लाख रुपैयाँ तथा चार हजार ५८४ मेट्रिक टन सुन्तला र किवी ३९ करोड ९२ लाख रुपैयाँ बराबरमा निकासी भएको छ ।

प्रतिक्रिया