Listen LIVE

भेरी–बबईको काममा गति बढाउन मुख्यमन्त्री आचार्यको पहल

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको कृषि, ऊर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न पहल अघि बढाएका छन् । 

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार पुगेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री आचार्यले भने, “आयोजनाको काम अलि सुस्ताएको छ, कामलाई गति प्रदान गर्नुस्, छिटो काम अघि बढ्छ कि भन्ने थियो तर काममा विलम्ब भयो, रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।“

मुख्यमन्त्री आचार्यले आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुनेगरी गर्नुपर्ने बताउँदै नदी कटान र विपद् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध गरे । आयोजना कार्यालयसँग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको बर्दियाको बासगढी नगरपालिका–१ चेपाङका स्थानीयसँग भेट गरेका थिए । सो अवसरमा अबको २ वर्षभित्र भेरी नदीको पानी बबई नदिमा झारेर सिँचाइ, विद्युत् उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । 

बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको उहाँले जानकारी दिनुभयो । हालसम्म टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रसारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य छ । १२ महिना सिँचाइ र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

आर्थिक वर्ष २०६८्६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्नेछ । सिँचाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ । 

चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ । मुख्यमन्त्रीसँग ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री सीता चौधरी, पूर्वमन्त्री रत्न खत्रीसहितको टोलीले आयोजनाको बारेमा स्थलगत जानकारी लिएको हो । मुख्यमन्त्री आचार्यले शुक्रबार नै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग सुर्खेतमा छलफल गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया