Listen LIVE

कोहलपुरका निष्क्रिय सहकारीको दर्ता खारेज गर्ने तयारी

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका १३ वटा सहकारी संस्थाहरूको दर्ता खारेजी प्रक्रिया अघि बढाउने भएको छ।

नगरपालिकाको नियमन क्षेत्राधिकारभित्र दर्ता भई सञ्चालनमा रहेका केही सहकारी संस्थाहरू लामो समयदेखि निष्क्रिय रहेको, नियमित साधारण सभा नगरेको, वार्षिक तथा लेखापरीक्षण प्रतिवेदनलगायत आवश्यक विवरण नगरपालिकामा पेश नगरेको र कार्यालयसमेत सञ्चालनमा नरहेको पाइएको नगरपालिकाले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, कोहलपुर नगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ (३) तथा संघीय सहकारी ऐन, २०७४ को दफा ८८ (३) बमोजिम लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेका वा कानुनअनुसार बुझाउनुपर्ने विवरण नबुझाउने सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने व्यवस्था छ।

नगरपालिकाले पटक–पटक ताकेता गर्दा समेत सम्पर्कमा नआएका त्यस्ता सहकारी संस्थालाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नगरपालिकाको सहकारी शाखामा उपस्थित भई संस्था अद्यावधिक गर्न अन्तिम मौका दिएको छ।

तोकिएको अवधिभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी संस्था अद्यावधिक नगरेमा प्रचलित सहकारी ऐन, २०७४ बमोजिम सम्बन्धित सहकारी संस्थाको दर्ता खारेज तथा विघटन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार म्यादभित्र संस्था अद्यावधिक नगरी दर्ता खारेज भएमा संस्थाको चल–अचल सम्पत्ति, जायजेथा, दायित्व तथा बचतकर्ताको बचत फिर्तासम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रचलित कानुनबमोजिम तत्कालीन सञ्चालक समिति र व्यवस्थापकको हुनेछ।

नगरपालिकाले सम्बन्धित सहकारीका सञ्चालक, शेयर सदस्य तथा सरोकारवालालाई तोकिएको समयभित्र सहकारी शाखामा सम्पर्क गरी संस्था अद्यावधिक गर्न आग्रह गरेको छ।

प्रतिक्रिया