Listen LIVE

टेस्ट राष्ट्रमाथि नेपालको पहिलो जित

काठमाण्डौ : नेपाली महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ । उपकप्तान पूजा महतोको अर्धशतकप्रेरित नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गर्दै ऐतिहासिक उपलब्धि बटुल्यो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङ निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनाएको थियो । पूजाले अविजित ५२ रन बनाएपछि नेपालले ३ बलअगाडि १ सय ३३ रन बनायो । पूजाले ५० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरिन् ।

यस जितले नेपालको सुपर सिक्समा पुग्ने झिनो आशा कायम राखेको छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपालले पहिलो जित पाएको हो । यसअघि नेपालले थाइल्यान्डसँग ८ विकेट र नेदरल्यान्ड्ससँग २ रनको पराजय भोगेको थियो ।

टिमको सामूहिक प्रयासले यो नतिजा सम्भव भएको नेपालका भारतीय प्रशिक्षक हर्शल पाठकले बताए । ‘यदि तपाईं आफ्नो योजना र रणनीतिमा विश्वास गर्नुहुन्छ र त्यसलाई खेलमा उतार्नुहुन्छ भने प्रतिद्वन्द्वी को हो भन्नेले अर्थ राख्दैन, नतिजा आफैं अगाडि आउँछ,’ पहिलो पटक नेपाली महिला टोलीको प्रशिक्षकका रूपमा उत्रिएका पाठकले भने ।

नेपालको खेल हेर्न बाक्लो संख्यामा दर्शकको उपस्थिति थियो । स्कटल्यान्डविरुद्ध बुधबार अन्तिम खेलमा अझ धेरै समर्थक आएर नेपाललाई समर्थन गर्न पाठकको अनुरोध थियो । स्कटल्यान्डलाई ठूलो अन्तरमा पराजित गरेमा मात्र नेपालको सुपर सिक्स पुग्ने सम्भावना रहन्छ । नेपाललाई विजय दिलाउन जिम्बावेको अनियन्त्रित बलिङले पनि ठूलो सहयोग गरेको थियो । नेपालले अतिरिक्तमा २१ रन पाएको हो, जसमा जिम्बावेका बलरले वाइडबाट १९ दिएका थिए ।

सम्झना खड्का ७ बलमा १ चौका प्रहार गरी ९ र विन्दु रावल १७ बलमा २ चौका प्रहार गरी १५ रनमा आउट भए । त्यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले तेस्रो विकेटमा ३५ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । जोसेफिन एनकोमोको बलमा एज लागेर बोल्ड भएकी इन्दुले २२ रन बनाइन् । इन्दुले २३ बल खेल्दा २ चौका र १ छक्का प्रहार गरिन् ।

‘पूजा र इन्दुको साझेदारी महत्त्वपूर्ण थियो । इन्दु र पूजाले खेल नियन्त्रणमा लिएर जिताउने क्षमता राख्छन् भनेर उनीहरूलाई भन्दै आएको छु । यो बुझेर नै पूजाले आजको इनिङ्स खेलेकी हुन्,’ प्रशिक्षक पाठकले भने, ‘यो कुरा अभ्यासमा बुझिन्न, यो म्याचकै बेलामा खेलेर बुझिने हो ।’

कविता जोशी पनि १ रनमा बोल्ड भइन् । सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट भइन् । रुबिना क्षेत्री २ रनमा अविजित रहिन् । यसअघि केलिस ध्लोभुले अविजित ५२ रन बनाउँदै जिम्बावेलाई मध्यम स्कोरमा उभ्याएकी थिइन् । उनले ३६ बल खेल्दै ८ चौका प्रहार गरिन् । ओपनर विलोभ्ड बिजाले ३४ रन जोडिन् ।

उनले ३५ बल खेल्दै ४ चौका प्रहार गरिन् । उनका ओपनिङ जोडी कप्तान चिपो मुगेरी ट्रिपानोले ८ रन जोडिन् । कविता कुँवरले खेलको पहिलो बल वाइड फालेकी थिइन् । त्यसपछिको दुई बलमा ट्रिपानोले एजमा दुई चौका प्रहार गरिन् । तर तेस्रो बलमा कविताले उनलाई बोल्ड गरेकी थिइन् ।

मोडेस्टर मुपाचिकवाले २६ बल खेल्दै १४ रन बनाइन् । लोरिन सुमाले खाता खोल्न सकिनन् भने जोसेफिन एनकोमो ६ र चिइद्जा धुरुरु ४ रनमा आउट भए । नेपालबाट रिया शर्माले २ विकेट लिइन् । उनले ४ ओभरमा २५ रन खर्चेकी थिइन् । कविता कुँवर, सीता, रुबिना र पूजाले १–१ विकेट लिए ।

जिम्बावे समूह चरणका सबै चार खेलमा पराजित भएको हो । जिम्बावे यस अघि नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया