प्युठान : झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न भयो । आँसु/जानकी/बजरंगी जे.भी.ले पुल निर्माण गर्न २०८० असार १७ गते सम्झौता गरी काम अघि बढाएको थियो । २० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले ४ महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो ।
“फागुनमै सम्पन्न भएर गाडी गुडेको थियो,” निर्माण व्यवसायी बालाजु श्रेष्ठले भने,“समयभन्दा चार महिना पहिले नै सकियो ।” निर्माण कार्य सम्पन्न भए पनि रकम भुक्तानी नपाएको श्रेष्ठले बताए ।
सडक पूर्वाधार विकास कार्यालय मार्फत उक्त पुल निर्माण भएको हो । ४ करोड ७९ लाख १५ हजार ९४३ रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख चन्द्र बहादुर शाहले बताए । कार्यालयमा बजेट नहुँदा भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए । तोकिएको मितिभन्दा पहिले निर्माण कार्य सक्ने कम्पनीलाई कार्यालयले सम्मान गर्ने योजना बनाएको उनले बताए ।
निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठको कम्पनीले गोब्दीको पक्की पुल मात्र होइन भवन र सिँचाइ कुलो समेत तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको उदाहरण छन् । मल्लरानी गाउँपालिकाको रस्पुरकोटमा एक वर्ष पहिले नै विकासे सिँचाइ कुलो निर्माण सम्पन्न भएको थियो । झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिँचाइ कुलो निर्माण गरेको व्यवसायी श्रेष्ठले बताए ।
प्युठान नगरपालिकामा नौकुलो सिँचाइ योजना डेढ वर्ष अघि नै सम्पन्न भएको थियो । उक्त काम जलस्रोत तथा सिँचाइ डिभिजन मार्फत भएको श्रेष्ठले जानकारी दिए । सरुमारानी गाउँपालिकाको बांगेशाल स्वास्थ्य चौकी ६ महिना अघि निर्माण सम्पन्न गरेर सरकारबाट बोनस समेत प्राप्त गरेको श्रेष्ठ बताउँछन । “बांगेशाल स्वास्थ्य चौकी बनाउँदा ११ लाख रुपैयाँ बोनस प्राप्त भएको थियो,” उनले भने, “अरू योजनाबाट बोनस पाएको छैन ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार