Listen LIVE

शिक्षण अस्पतालको शवगृह भरिँदै

काठमाण्डौ : विनाशकारी हिमबाढीपछि विभिन्न स्थानबाट ल्याइएका शव त्रिवि शिक्षण अस्पतालमा राख्ने ठाउँ अभाव भएको छ । हिमबाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाबाट हालसम्म ८० वटा शव त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । एकै पटक ठुलो सङ्ख्यामा शव आएपछि सीमित क्षमताको शवगृहमा व्यवस्थापन गर्न कठिन भएको हो । 

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले अस्पतालको शवगृहमा सामान्य अवस्थामा १५० शव राख्न सकिने जानकारी दिए । उनले विशेष परिस्थितिमा व्यवस्थापन मिलाएर करिब दुई सय वटासम्म शव राख्न सकिए पनि लामो समयसम्म राख्नुपर्ने अवस्थामा भने समस्या हुने बताए । अहिले बाढीका कारण एकै पटक धेरै शव आएका छन् । 

उनले ती शवलाई वैज्ञानिक ढङ्गबाट जमिनमुनि व्यवस्थापन गर्न सुझाव दिँदै अन्यथा अस्पतालमा शव राख्ने स्थानको अभाव हुने जानकारी दिए । 'यहाँ पहिलेदेखि नै केही पुराना शव छन्,' डा. चौधरीले भने, 'नयाँ शव थपिँदै जाँदा समस्या देखिएको छ ।' डा. चौधरीका अनुसार केही शव सात/आठ वर्षदेखि नै अस्पतालमा छन् । 

गोरखाका नन्दप्रसाद अधिकारीको शवसमेत लामो समयदेखि अस्पतालको शव भण्डारणकक्षमा रहेको छ । 'केही शव बर्सौंदेखि यहाँ छन्, कानुनी प्रक्रिया पूरा नभएसम्म त्यस्ता शवलाई अन्त्येष्टि गर्न मिल्दैन,' उनले भने, 'अस्पतालमा आफन्त नभएका तथा पहिचान हुन नसकेका शव आइरहेका छन् ।' उनका अनुसार सामान्य अवस्थामा एक वर्षमा करिब एक सय वटासम्म यस्ता शव अस्पतालमा आउने गरेका छन् । त्यसमध्ये कानुनी प्रक्रिया पूरा भएपछि सम्बन्धित निकायको समन्वयमा अन्त्येष्टि गरिन्छ । 

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाराका अनुसार बाढीबाट प्रभावित क्षेत्रबाट आएका शवको पहिचान, पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल अन्त्येष्टि गर्न सकिने अवस्था हुँदैन । 

चिकित्सा शिक्षाको अध्ययन तथा पठनपाठनका लागि शरीर दान गरेका व्यक्तिका शव सम्बन्धित प्रक्रिया पूरा गरी मेडिकल कलेजले लैजाने गरेका छन् । केही अवस्थामा पहिचान हुन नसकेका तथा आफन्त नभएका शवसमेत कानुनी प्रक्रिया पूरा भएपछि चिकित्सा शिक्षाका लागि प्रयोग हुने गरेको छ । 

अहिले बाढीका कारण एकै पटक ठुलो सङ्ख्यामा शव थपिएपछि पुराना शवको व्यवस्थापनसँगै नयाँ शवको भण्डारण चुनौती बनेको छ । बाढी प्रभावित क्षेत्रबाट शव आउने क्रम अझै जारी रहेकाले अस्पतालले आगामी दिनमा थप चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ । उनले विशेष गरी पहिचान हुन नसकेका शवको हकमा आफन्तको खोजी, डिएनए परीक्षणलगायत प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले लामो समयसम्म शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने बताए । 

अब शव जमिनमुनि व्यवस्थापन गर्नुको विकल्प नभएको डा. चौधरीको भनाइ छ । अस्पतालका सूचना अधिकारी रोसायाराले बाढीबाट आएका शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम प्राथमिकताका साथ भइरहेको बताए ।

प्रतिक्रिया