Listen LIVE

नवयुवाका लागि अवसरहरू सृजना गर्ने इस्तियाकको दाबी

नेपालगञ्ज : नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले घर–घर पुगेर आफ्नो पक्षमा मतदाताहरूको समर्थन जुटाउन सक्रियता बढाएका छन् । उम्मेदवार राईले आज विहान नेपालगन्जको वडा नं १३, वडा नं १४ र वडा नं १८ का टोल–वस्तीमा पुगेर आफ्नो निर्वाचन चिन्ह सूर्यमा मतदान गर्न मतदाताहरूसँग आग्रह गरे ।

उम्मेदवार राईले सहरी विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगिरहेका छन् । उनले नीतिगत व्यवस्थामार्फत सामाजिक–संरचनागत सुधारलाई पनि आफ्नो चुनावी अजेन्डा बनाएका छन् । भुजईगाउँमा राईले नवयुवा मतदाताहरूसँग उनीहरूको चाहनालाई आफूले कसरी सम्बोधन गर्न सक्छु भनेर जिज्ञासा राखेका थिए । 

लागुऔषधको समस्याले नेपालगञ्जमा संकटको रूप लिन थालेको भन्दै राईले युवाहरूलाई कुलतबाट जोगाउन र रोजगारी, खेलकुद र सामाजिक गतिविधिहरूमा संलग्नताको अवसर बढाउन प्रयत्नरत रहेको बताउँदै आएका छन् । जेन–जी उमेरमै राजनीतिमा आएर आफूलाई स्थापित गरेका राईले नवयुवाहरूको मनमा उठ्ने प्रश्नहरूबारे आफू  धेरथोर जानकार रहेको पनि बताए । 

राईको आज विहानको घरदैलो नेपालगञ्ज नगरपालिकाका प्रायः ग्रामिण इलाकामा केन्द्रित थियो । उनले वडा नं १३ को लोलियनपूर्वा, वडा नं १४ को मन्नुपूर्वा, नयाँ बस्ती र हुसेनगंज तथा वडा न १८ को भुजइगाउँ क्षेत्रमा घरदैलो गरेका हुन् ।

प्रतिक्रिया