नेपालगञ्ज : बाँकेको नेपालगन्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीमा शिविर सञ्चालन गरिएको हो । कान्ति आरोग्य अस्पताल नेपालगञ्जको आयोजना एवम् उपमहानगरपालिकाको सहयोगमा शिविर सञ्चालन भइरहेको छ ।
उक्त शिविरमा सुशील कोइराला क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनील घोषले पाठेघरको मुख नियमितरुपमा जाँच गराए क्यान्सरको जोखिमबाट बच्न सकिने बताए । पाठेघरमा घाउ भएनभएको जाँच गरिने डा.घोषले बताए । क्यान्सर हुनुभन्दा पहिले घाउ निको बनाउन सके क्यान्सरको जोखिम टर्ने उनले बताए । गर्भवती र महिनावारी भएका बेला जाँच गर्न नमिल्ने जानकारी दिँदै डा.घोषले २४ देखि ६५ वर्षका महिलाले पाठेघर जाँच गराउनुपर्ने सुझाव दिए ।
कान्ति आरोग्य अस्पतालका डा.रोमा बोराले नियमित पाठेघरको जाँच गराउन आग्रह गरिन् । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजेटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
सरकारले क्यान्सर रोगका बिरामीलाई उपचार खर्चका लागि एक लाख र लुम्बिनी प्रदेश सरकारले दुई लाख दिँदै आएको छ । यस्तै बिरामीलाई जीविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार दिने गरिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गर्दै आइएको छ । शिविरमा भेरी अस्पतालका मेडिकल अधिकृत डा.समीक्षा चन्दले जाँच गरिरहेको स्वास्थ्य महाशाखाका सिनियर अनमी निरीक्षक प्रेमकुमारी बिसीले जानकारी दिइन् ।
चालु आवमा सात वडामा शिविर सञ्चालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम बमोजिम वडा नम्बर २३ र २२ मा शिविर सम्पन्न भएको छ । वडा नम्बर २३ मा बिहीबार गरिएको शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको जाँच गरिएको थियो । तीमध्ये एक जनामा पोजेटिभ देखिएको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार