Listen LIVE

नेपालगञ्ज १० किमि नाइट रनको उपाधि मुकेश पाल र गीता साहुलाई

नेपालगञ्ज I नेपालगञ्ज १० किलोमिटर नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी १३ वर्षीय गीता साहुले जितेका छन्।

संविधान दिवसको अवसरमा बिहीबार राति नेपालगञ्जमा आयोजित रात्री दौडमा पालले ३१:०७:२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्। यस दौडमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो स्थानमा र किरणसिंह बोगटी तेस्रो स्थानमा रहे। सन्तोषले ३२:४८:४४ मिनेटमा दौड पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरेका थिए।

धारा नेपालगञ्ज म्याराथनको दशौँ संस्करणलाई विशेष बनाउन 'दसौँमा दस इभेन्ट' अन्तर्गत पहिलो कार्यक्रमका रुपमा आयोजित १० किलोमिटर रात्री दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी १३ वर्षीया गीता कुमारी साहु पहिलो भइन्। उनले ५१:१६:५२ मिनेटमा दौड पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दौड पूरा गरेर दोस्रो स्थान हासिल गरिन्। सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भइन्।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश: नगद रु २५,०००, १५,०००, र १०,००० सहित पदक र प्रमाणपत्र प्राप्त गरे।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, र राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र बिष्ट लगायतले विजेताहरूलाई पुरस्कृत गरे।

रात्री दौडमा विजयी भएका मुकेश पालले भने, "मैले उपाधि जितें, यो इतिहास बनाउने अवसर थियो। रात्री दौडको अनुभव बेग्लै हुन्छ।"

उता, पहिलोपटक ठूलो प्रतियोगितामा भाग लिएकी १३ वर्षीया गीता साहुले भने, "मलाई यस्तो नतिजा आउने आशा थिएन। मैले पहिलो पटक यति धेरै पैसा जितेकी छु। यो पैसा आमालाई दिनेछु, र अब अझ धेरै दौडहरुमा भाग लिन्छु।"

भेट्रान पुरुषतर्फ रैवत दाहालले ३८:०८:७१ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरे भने बाँके खजुराका भरत श्रेष्ठले ४८:५६:२३ मिनेटमा दौड पूरा गर्दै दोस्रो र महेन्द्र बज्राचार्यले ४९:१९:२५ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे।

लुम्बिनी प्रदेशका निवर्तमान सदस्यसचिव भिम ओली र समाजसेवी लिलबहादुर थापाले भेट्रान विजेताहरुलाई पुरस्कृत गरे। भेट्रान विजेता रैवत दाहालले भने, "पछिल्लो पुस्तालाई दौडमा आकर्षित गर्न म दौडिरहेछु। राती दौड्दा अनौठो अनुभव हुन्छ। दौडमा धेरैभन्दा धेरै सहभागिता जनाउनुपर्छ, यसले आकर्षण बढाउँदै लैजान्छ।"

नेपालगञ्ज उपमहानगरपालिकाको प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपी चोक, धम्बोजी चोक, पुष्पलाल चोक, कारकाँदो चोक हुँदै राँझा नजिकै पुगेर पुन: सोही मार्ग हुँदै बीपी चोकमा सम्पन्न भएको थियो।

प्रतिक्रिया