Listen LIVE

दिवसमा विद्यार्थीलाई मेडल र प्रमाणपत्र

नेपालगञ्ज : नेपालगञ्जमा रहेको सोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले वार्षिक खेलकुद दिवसमा विभिन्न खेलमा विजयी भएका २८ सय बढी विद्यार्थीलाई मेडल र प्रमाणपत्र वितरण गरेको छ । 

सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विभिन्न खेलकुदमा सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने २८ सय जनालाई मेडल र प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश गुरुङले बताए । 

उनले विद्यालयका हरेक विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराएर उनीहरूले प्राप्त गरेको स्थान अनुसार सबैलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गरिएको बताए । 

सोही कारणले विद्यालयको २१ औं वार्षिक खेलकुद दिवस बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म चलेको विद्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद केवल शारीरिक तन्दुरुस्तीको माध्यम नभई यो अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्व सिकाउने माध्यम हो, भने ।

उनले सोफिया इङ्लिश स्कुलले शिक्षा र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाउँदै सबै विद्यार्थीलाई खेलकुदमा सहभागी गराएको देख्दा खुशी लागेको बताए ।

कार्यक्रममा सहभागी अभिभावकमध्ये नेपालगञ्ज–१ का अभिभावक समद सिद्दिकीले विद्यालयका सबै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनु र यति धेरै जनालाई मेडल र प्रमाणपत्र वितरण गर्नु आफैमा ठुलो उपलब्धि भएको बताए । 

विद्यालयकी प्रमुख कार्यकारी अधिकृत सुशिला बसेलले खेलकुदको प्रतिस्पर्धा र सयौं विद्यार्थीले एकै पटक देखाएको रङ्गिचङ्गी पिटि ड्रिल एवं सामूहिक नृत्यले त्यहाँ उपस्थित सयौं अभिभावक, पाहुना र पत्रकारको मन जित्न सफल भएको बताइन् । 

उनले विद्यालयका शिक्षक, विद्यार्थी र व्यवस्थापनले महिनौदेखि गरेको परिश्रम तथा तयारीका कारण वार्षिक दिवस अति नै भव्य र सफल भएको बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबी बसेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया