नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा १५ लाखको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । उपमहानगरको आर्थिक सहयोगमा महासङ्घले आयोजना गरेको जिल्लाका पत्रकारहरूका लागि कृत्रिम बुद्धिमत्ता -एआई) सम्बन्धि चार दिने अभिमुखीकरण तालिमको उदघाटन गर्दै नगर प्रमुख विष्टले चालू आर्थिक वर्षमा १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने र हरेक वर्ष ५ लाख रुपैयाँका दरले सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाए ।
कोष स्थापना गर्न कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई थियो । 'अब हामी छिट्टै सुरुको मूल धन १५ लाख हुने गरी अक्षयकोष खडा गर्दैछौं, त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौँ' उनले भने, 'जेठ १५ गते गणतन्त्र दिवसको दिन हामी घोषणा गर्छौं ।'
नगर प्रमुख विष्टले मिडिया प्रवद्र्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताए । नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि नै सञ्चार नीति भने बनाइसकेको छ । नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताए । चौलागाईले पत्रकारहरूले समयअनुसार आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै तालिमले सीप र आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गरे ।
बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरूको क्षमता विकासका लागि एआई तालिम आयोजना गरिएको बताए । 'आज विश्व तीव्ररूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमा भन्दा बाहिर पुगिसकेको छ' गिरीले भने समाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म एआईको प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ, त्यसैले यो तालिमको महत्व छ ।'
बाँकेका ४० जना पत्रकारको सहभागिता रहेको तालिममा जीवन भण्डारी र उमङ्ग निरौलाले सहजीकरण गर्दै छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार