नेपालगञ्ज : सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर नेपालगञ्जमा सवारी साधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
विश्व सडक सुरक्षा सप्ताहको अवसर पारेर दुर्घटना न्युनीकरणका लागि नेपालगन्जमा यात्रुवाहक सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा १५० जना चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जनाए ।
उनले सडक सुरक्षालाई नियम पालना र सवारी साधनको अवस्थासँग मात्र नभइ चालकको शारीरिक तथा मानसिक स्वास्थ्यसँग पनि प्रत्यक्ष रुपमा जोडेर हेरिनुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको बताए ।
बाँकेका जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले भने, 'सार्वजनिक सवारीका चालकहरु दिनहुँ सयौं यात्रुको जीवन सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरुको स्वास्थ्य अवस्था सुरक्षित हुनु अत्यन्त आवश्यक छ । सोही कारणले चालक र सहचालकहरुको स्वास्थ्यप्रति समयमै ध्यान दिनु पनि उत्तिकै महत्वपूर्ण पक्ष हो ।'
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शिविरमा चालक तथा सहचालकहरुको सुगर, रक्तचाप (प्रेसर), सामान्य शारीरिक अवस्था लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणसँगै उनीहरुलाई आवश्यक स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो ।
लामो समयसम्म लगातार सवारी चलाउँदा हुने थकान, अनियमित खानपान, तनाव तथा निद्राको कमीले चालकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको प्रहरी निरीक्षक डा. नितु भण्डारीले बताइन् ।
प्रहरी निरीक्षक डा. भण्डारीको नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । टोलीले चालकहरुलाई स्वास्थ्यप्रति सजग रहन, नियमित परीक्षण गर्न, पर्याप्त आराम लिन तथा सुरक्षित यात्राका लागि स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएको थियो ।
विश्व सडक सुरक्षा सप्ताहअन्तर्गत बैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । यस अभियानमार्फत सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्राका लागि चालक र यात्रु दुवैलाई जिम्मेवार बनाउन विशेष जोड दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार