नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ ।
विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो ।
अहिले जिल्लाको तीनवटै क्षेत्रमा मनोनयन दर्ता गराएका अधिकांश दल र उम्मेदवार चुनावी प्रचारको रणनीति बनाउन व्यस्त छन् । उनीहरू चुनावी जोड घटाउ गर्दै मतदाता रिझाउने योजना बनाउन सक्रिय देखिन्छन् ।
पुर्वमन्त्री मोहम्मद ईश्तियाक राई एमालेको उम्मेदवार बनेसँग बाँके क्षेत्र नम्बर २ सर्वाधिक चर्चित बनेको जनाउँदै नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले क्षेत्रीय प्रचार प्रसार समिति गठन गर्न लागिएको बताए ।
उनले जिल्लाका तीनवटै क्षेत्रमा प्रचार प्रसार समिति गठनसँगै सम्पर्क कार्यालय खोल्ने कार्य पनि सुर गरेको बताए ।
सोही प्रकारले नेपाली कांग्रेस बाँकेका सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार नारायण गौडेलले कांग्रेसले पनि क्षेत्रीय प्रचार प्रसार समितिहरू गठन गर्ने तथा निर्वाचन सम्पर्क कार्यालयहरू स्थापना गर्ने कार्य सुरु गरेको बताए ।
उनले ओपचारिक र अनौपचारिक प्रचार प्रसार सुरु भएसँगै विस्तारै समग्र जिल्ला निर्वाचनमय हुँदै गएको बताए ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके २ का उम्मेदवार दीपेन्द्र विष्टले आफूले प्रतिबद्धता पत्र सार्वजनिक गरेर घरदैलो र जनसम्पर्क कार्यलाई अगाडि बढाइसकेको बताए । उनले ठाउँ ठाउँमा सम्पर्क कार्यालयहरू स्थापना गर्ने कार्यपनि सँगसँगै गरिरहेको जनाए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निलराज अधिकारीले रास्वपाले पनि कार्यकर्ता परिचालन गरेर जनताको मुड बुझ्ने काम सुरु गर्दै प्रचार प्रसारलाई अगाडि बढाएको बताए ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दीन राईले जिल्लाका तीनवटै क्षेत्रमा प्रचार प्रसार समिति गठन तथा सम्पर्क कार्यालयहरू खोल्न थालिसकेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार ऋषिराज देवकोटाले पनि प्रचार प्रसार समिति गठन र सम्पर्क कार्यालय स्थापना गर्ने कार्यमा आफुहरू जुटेको बताए ।
यसैगरी स्वतन्त्र उम्मेदवारहरुले पनि घरदैलो र प्रचार प्रसारको सुरुवात गरिसकेको बताएका छन् । स्वतन्त्र उम्मेदवार गोपाल प्रसाद गिरीले जनताका ऐजेन्डा र मागलाई बुझ्नका लागि जनसम्पर्क गरिरहेको बताए ।
बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा तीन सिटका लागि ५६ जना उम्मेदवारविच प्रतिष्पर्धा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार