Listen LIVE

पदक विजेता पलेसालाई पोखरा महानगरको सम्मान

पोखरा : पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरेका हुन्। पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमबीच पलेसालाई सो सम्मान प्रदान गरिएको हो।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर प्रमुख आचार्यले भने, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ।’

भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन्। पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

प्रतिक्रिया