हुम्ला : भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू यतिबेला भरिभराउ भएका छन् । सिमकोट–हिल्सा हुँदै मानसरोवर–कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या बढेपछि होटल व्यवसायमा उल्लेख्य चहलपहल देखिएको हो ।
होटल पोतलाका सञ्चालक मिनबहादुर तामाङका अनुसार गत वैशाख ३० गतेयता करिब ८०० भारतीय धार्मिक पर्यटकलाई सेवा प्रदान गरिएको छ । उनले सिमकोट र हिल्साका अधिकांश होटल यतिबेला भरिभराउ रहेको बताए ।
उनका अनुसार अन्य समयमा सुनसान रहने सिमकोटका अधिकांश होटलमा यस सिजनमा चहलपहल बढेको छ । एक जना पर्यटकले सिमकोटमा एक रात बस्दा खाना, खाजा र आवाससहित औसत तीन हजार पाँच सय रुपैयाँ खर्च गर्ने गरेको उनले जानकारी दिए ।
होटल विजय, सनलाइट, कर्णाली रिसोर्ट, कैलाश, मानसरोवर, हुम्ला रिसोर्ट, पोतला, एलिस तथा तिब्बतीयनलगायतका होटलमा पर्यटकको चाप बढेको छ । सिमकोटजस्तै हिल्साका पाँचवटा होटल पनि पर्यटकले भरिभराउ हुने गरेका छन् ।
पर्यटक आगमन बढेसँगै होटल व्यवसायी मात्र होइन, विमानस्थलदेखि होटलसम्म पर्यटकको सामान बोक्ने भरियाले पनि राम्रो आम्दानी गर्न थालेका छन् । सिमकोट गाउँपालिकाका तर्फबाट विमानस्थलमा सरसफाइ शुल्क संकलनको जिम्मेवारी पाएका दिपेन्द्र भण्डारीका अनुसार ३० भन्दा बढी भरियाले नियमित रोजगारी पाएका छन् ।
भरियाले विमानस्थलदेखि होटल वा होटलदेखि विमानस्थलसम्म एउटा झोला बोक्दा एक सय रुपैयाँ लिने गरेका छन् । यसबाट एक जना भरियाले दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए ।
पर्यटकको चाप बढेपछि स्थानीय किसानले उत्पादन गरेका तरकारीले पनि सहज बजार पाएका छन् । किसान सुनिता रावतका अनुसार आलु, काउली, साग, प्याज, धनियालगायतका तरकारी स्थानीय होटलमा सहजै बिक्री भइरहेका छन् । केही वर्षअघिसम्म यिनै तरकारी नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याइन्थ्यो । अहिले भने स्थानीय किसानले आफ्नै खेतबारीमा उत्पादन गर्न थालेपछि होटलको माग स्थानीय उत्पादनले नै धान्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक जंगबहादुर सिंहका अनुसार हालसम्म चार हजार ५४६ भारतीय पर्यटक नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै चीनको ताक्लाकोट पुगेर मानसरोवर–कैलाश दर्शनका लागि गइसकेका छन् । तीमध्ये दुई हजार २५४ महिला र दुई हजार २९२ पुरुष रहेका छन् ।
यस वर्ष वैशाख ३० गतेदेखि भारतीय पर्यटकको आगमन सुरु भएको हो । पर्यटन व्यवसायी रन्जिन लामाका अनुसार अहिले दैनिक ८० देखि २०० जनासम्म भारतीय पर्यटक हवाईमार्गबाट हुम्ला पुगिरहेका छन् ।
पर्यटकको चाप बढेसँगै निजी वायुसेवा कम्पनीहरूले उडान संख्या पनि बढाएका छन् । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहका अनुसार ताराको एउटा, सीताको दुईवटा र समिट एयरका तीनवटा गरी दैनिक छवटा जहाजले बिहानदेखि साँझसम्म नेपालगञ्ज–सिमकोट उडान गरिरहेका छन् ।
त्यसैगरी, छवटा कम्पनीका छवटा हेलिकोप्टरले सिमकोट–हिल्सा उडान गरिरहेका छन् । बिहान ६ः३० देखि साँझ ७ बजेसम्म हेलिकोप्टरले पर्यटक ओसारपसार गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार