Listen LIVE

एमाले कैलालीका अध्यक्ष ढुङ्गानाद्वारा निःशुल्क उपचार सहयोग

धनगढी : नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक जना महिला बिरामीको निःशुल्क उपचार गराएका छन् । नवजीवन अस्पतालका सञ्चालक समेत रहेका अध्यक्ष ढुङ्गानाले डोटी गड्सेरा –५ निवासी मनसरादेवी खडायतको उपचार खर्च उहाँले व्यहोर्ने जिम्मा लिएका हुन् । 

भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा महिलाले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराउँदै आएकी थिइन् । दुई दिनपछि एमाले अध्यक्ष ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएको बताए । 

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. विदुरमणी ढकाल नेतृत्वको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गर्यो । त्यसक्रममा उनको उपचारका लागि लागेको करिब २ लाख बढी रकम आफूले व्यहोरेको अध्यक्ष ढुङ्गानाले बताए । ‘आर्थिक अवस्था नाजुक भएका कारण उपचार गराउन नसकेकी उनलाई आफूले सहयोग गरेको अध्यक्ष ढुङ्गानाले बताए । ‘मैले उहाँको सम्पूर्ण उपचार निःशुल्क गरिदिएको छु’ अध्यक्ष ढुङ्गानाले भने, ‘जनताको सेवा गर्नु नै हामी राजनीतिज्ञहरूको धर्म हो ।’

७८ वर्षीया मनसराको श्रीमान् छैनन् । उनको एक छोरा अपाङ्गता छन् । आफूहरू उपचार गर्न समस्या भइरहेको बेला अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि ठुलो राहत मिलेको उनका छोरा कुमार खडायतले बताए । कुमारले अध्यक्ष ढुङ्गानाप्रति आभार व्यक्त गरे । 

असोज ६ गते घाँस काट्न जाँदा लडेर मनसरा घाइते भएकी थिइन् । भीरमा लडेर दुई दिनसम्म घरमै थलिएकी उनले आफ्नो उपचार हुने सम्भावना टर्दै गएको भनेर चिन्तामा रहेको बताइन् । उपचार सहयोगले आफू पुनर्जन्म पाएको उनले बताइन् । 

‘म त बाच्दिनकि जस्तो लागेको थियो । अध्यक्ष ढुङ्गानाले उपचार गरिदिनुभयो, उहाँको भलाइ होस’ मनसराले भनिन् । अध्यक्ष ढुङ्गानाले गरिब र दुःखीलाई नियमित सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया