नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रित गरि विद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ ।
अभियानको क्रममा फिल्ड निरीक्षण गर्दा १४ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत प्राधिकरण खजुरा उपवितरण केन्द्रका इन्चार्ज दिनेश वलीले जानकारी दिए ।
उनले भने, 'बेवारिसे मिटरबाट करिब लाख पचास हजार युनिट बराबरको विद्युत खपत पहिचान गरी त्यसलाई राजश्व दायरामा ल्याइ लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको छ ।'
यसैगरी मिटरमा स्वीकृत क्षमता ५ एएमपी मात्र भएका तर नियमविपरीत १६ एएमपी र ३२ एएमपी सम्मका एमसिबी प्रयोग गरिरहेका ७४३ जना ग्राहकहरूको डिमान्ड चुहावट नियन्त्रण गरिएको उप वितरण केन्द्र इन्चार्ज वलीले जानकारी दिए । ती ग्राहकबाट प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक रकम असुली गर्ने प्रक्रिया अगाडि बढाइएको उपवितरण केन्द्रले जनाएको छ ।
चुहावट नियन्त्रण अभियानसँगै ग्राहकलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत आपूर्तिसम्बन्धी समस्याको स्थलगत रूपमा समाधान गर्ने कार्यलाई पनि प्राथमिकता दिइएको उपवितरण केन्द्र इन्चार्ज वलीले बताए ।
उपवितरण केन्द्र इन्चार्ज वलीले भने, 'आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकहरूको समस्यासमेत पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको छ । आवश्यकता भएका स्थानहरूमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारका कार्यहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन्, जसले आगामी दिनमा विद्युत आपूर्तिलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।
इन्चार्ज वली नेतृत्वको टोली गाउँ–गाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत प्रयोगको अनुगमन तथा सेवा सुधारका कार्य गरिरहेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले बताए ।
यस अभियानबाट नेपाल विद्युत प्राधिकरणको राजश्वमा उल्लेखनिय वृद्धि हुने तथा आगामी दिनमा अझ ठूलो आर्थिक उपलब्धि हासिल हुने विश्वास गरिएको वितरण केन्द्र प्रमुख मिश्रले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार