बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।
बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र सुरक्षाका लागि तैनाथ नेपाली सेनाले बाघलाई नियन्त्रणमा लिएका हुन् ।
एक महिनायता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित भएका थिए । बाघलाई नियन्त्रणमा लिन १९ दिन लागेको निकुञ्जका प्रमुख अशोकरामले बताए । 'चौपाया खान पल्केको समस्याग्रस्त बाघले मानिसलाई आक्रमण गर्न सक्ने भएकोले त्यहाँ १९ दिनदेखि खोजतलास गरिएको थियो,' उनले भने, 'क्यामेरा ट्रयापिङ गरी बाघ पत्ता लागेपछि डार्ट गरी नियन्त्रणमा लिएका हौँ ।'
आहाराको अभावमा बाघ बाहिर निस्केर वस्तुभाउ खाने र मानिसमाथि आक्रमण गर्ने गरेकोले समस्याग्रस्त भनिने गरेको छ ।
यस क्षेत्रबाट विगत दुई वर्षयता तीनवटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फाहाम्फेले बताए । 'गत वर्ष २ र यो वर्ष १ वटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएका छौँ,' उनले भने, 'विगत आठ वर्षयता बर्दियामा ६ वटा समस्याग्रस्त बाघ नियन्त्रणमा लिइसकेका छौँ ।'
तीमध्ये निकुञ्जको रम्मापुरमा तीन र ठाकुरद्वारा स्थित खोरमा २ वटा बाघ रहेका छन् । करिब सात महिनाअघि प्राकृतिक कारणले रम्मापुरमा एउटा बाघको मृत्यु भएको थियो । पछिल्लो गणनाअनुसार बर्दियामा बाघको संख्या झरेर १ सय १२ पुगेको छ । बर्दियामा सन् २०२२ मा बाघको संख्या १ सय २५ थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार