Listen LIVE

फत्तेपुर स्वास्थ्य चौकी यसवर्ष पनि पहिलो घोषित

नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ मा रहेको फत्तेपुर स्वास्थ्य चौकी यसवर्ष पनि पहिलो घोषित भएको छ । गतवर्ष पनि सोही स्वास्थ्य चौकी प्रथम घोषित भएको थियो । गाउँपालिकाभर रहेका १० वटा स्वास्थ्य संस्था मध्ये स्वास्थ्यका सबै सूचकमा आर्थिक वर्ष २०८२/०८३ का लागि फत्तेपुर प्रथम घोषित भएको हो ।

उक्त आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षामा प्रगति मुल्यांकन गर्दा फत्तेपुर स्वास्थ्य चौकीले प्रथम स्थान हासिल गर्न सफल भएको प्रमाणपत्रमा उल्लेख छ । राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखाले वर्षभरीको रिपोर्टलाई आधार मानेर प्रथम  घोषण गर्ने गरेको छ ।

खोप, आमा सुरक्षा, पोषण प्रर्वद्धन, मलेरिया, नसर्ने रोगहरु, सर्ने रोगहरु, कालाजार नियन्त्रण जस्ता कार्यक्रममा स्वास्थ्य संस्थाहरुले आफ्नो कार्य कुशलता देखाउनुपर्छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले स्वास्थ्य चौकीका ईन्चार्ज एवम् स्वास्थ्य अधिकृत मनोजकुमार मिश्रलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । प्रमाणपत्र हस्तान्तरणका क्रममा स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसी लगायतको उपस्थिती रहेको थियो । 

राप्ती सोनारी–७ का वडाअध्यक्ष रामलखन थारुले गतवर्ष जस्तै यसवर्ष पनि फत्तेपुर स्वास्थ्य चौकीले पहिलो स्थान हासिल गरेकोमा सबै वडाबासीलाई बधाई दिएका छन् । स्वास्थ्य चौकीलाई पहिलो स्थानमा ल्याउनमा वडाबासीहरुको साथ र सहयोग रहेको वडाअध्यक्ष थारुको भनाई छ । 'यसका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुका साथै सबै वडाबासीहरु पनि बधाईको पात्र हुनुहुन्छ,' थारुले भने ।

प्रतिक्रिया