Listen LIVE

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण गर्नुपर्ने

नेपालगञ्ज : कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकामा सूचीकरण नभएका अटो तथा ई–रिक्सा नगर क्षेत्रमा सञ्चालन गर्न नदिइने भएको छ।

नगरपालिकाले सातदिने सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सूचीकरण नगर्ने अटो तथा ई–रिक्सालाई सञ्चालनमा रोक लगाउने जनाएको हो।

'अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि, २०७९' को दफा ३ मा नगर क्षेत्रमा अटो तथा ई–रिक्सा सञ्चालनको अनुमति लिनुअघि नगरपालिकामा सूचीकरण हुनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार नगर क्षेत्रमा अटो तथा ई–रिक्सा सञ्चालन गर्दै आएका व्यवसायी तथा चालकलाई आवश्यक कागजातसहित सूचीकरण गर्न आग्रह गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए।

उनका अनुसार नगरपालिकामा सूचीकरण भएका अटो तथा ई–रिक्साको पहिचानका लागि कार्यालयले स्टिकर उपलब्ध गराउनेछ। सूचीकरण नभएका सवारीसाधनलाई नगर क्षेत्रमा सञ्चालनको अनुमति नदिइने उनले बताए। अनुमति नलिई सञ्चालनमा रहेका अटो तथा ई–रिक्सालाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही गरिने उनको भनाइ छ।

सूचीकरणका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई नियमानुसार नवीकरण गरिएको सवारी दर्ता किताबको प्रतिलिपि, बिमासम्बन्धी कागजात, सवारी चालक अनुमतिपत्र र सवारीधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले अटो तथा ई–रिक्सा सञ्चालनलाई व्यवस्थित, नियमन र व्यवस्थापन गर्न सूचीकरण प्रक्रिया अघि बढाइएको बताए।

नगर क्षेत्रमा ठूलो संख्यामा अटो तथा ई–रिक्सा सञ्चालन भइरहेकाले तिनको अभिलेख राख्न, पहिचान गर्न र नियमन गर्न सूचीकरण अनिवार्य गरिएको उनले बताए।

नगरपालिकाले जारी गरेको सूचनामा तोकिएको सात दिनभित्र आवश्यक कागजातसहित सूचीकरण नगर्ने अटो तथा ई–रिक्सालाई कारबाहीको दायरामा ल्याइने उल्लेख छ।

प्रतिक्रिया