यदुराज मिश्र/नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बाँकेका मतदातामाझ उत्साह बढ्दो छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् भने मतदाताहरू पनि आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिन्छन् । शहरदेखि गाउँसम्म चुनावी सरगर्मी बढेसँगै राजनीतिक संवाद, छलफल र उम्मेदवारप्रति चासो बढ्न थालेको छ ।
चिया चौतारादेखि खेतबारीसम्म उम्मेदवारहरुको विषयमा मतदाहरुले एक आपसमा छलफल गर्न थालेका छन् । गाउँघरमा मत माग्न आउने उम्मेदवाहरुसँग छलफल तथा अन्तरक्रियामा पनि उत्तिकै सक्रियताका साथ मतदाताहरुले छलफल गर्दै आफ्नो गाउँठाउँका समस्या समेत सुनाउँदै आएका छन् । डुडुवा गाउँपालिका ६ हिरमिनियाका निराहु धोबीले आफुहरु मतदानका लागि उत्साहित मात्र नभई आतुर रहेको बताए । “यो चुनाव नेताहरूको लागि मात्र होइन, हाम्रो भविष्य कोर्ने अवसर पनि हो,’’ उनले भने, हामी गाउँ, क्षेत्र र समुदायको भविष्य निर्धारण गर्न सक्षम नेतालाई नै मत दिन्छौं ।”
उनका अनुसार गाउँमा आउने सबै उम्मेदवारलाई स्वागत गर्ने परम्परा त छँदैछ, तर मत दिने बेला स्वविवेक र जिम्मेवारी बोधका साथ निर्णय गर्ने मनस्थितिमा मतदाता पुगेका छन् । “हामीले उम्मेदवारहरूलाई नजिकबाट हेरिरहेका छौँ, कसले कति काम गर्न सक्छ, कसले गर्न सक्दैन भन्ने बुझ्दैछौँ,’’ उनले भने, ‘‘सांसदको भूमिका विकास र नीति निर्माण दुबैमा महत्त्वपूर्ण हुने भएकाले हामी सजग मतदाता बन्न चाहन्छौं ।”
त्यस्तै, सोही ठाउँ निवासी उमेश यादवले पनि आगामी निर्वाचनप्रति उत्साह बढ्दै गएको बताए । उनका अनुसार विगतमा पनि मतदानमा सहभागी भएपनि यसपालि मतदातामा अझ बढी सचेतना आएको छ । “हामीले पाँच वर्षका लागि मतदान गरेका थियौँ, तर तीन वर्षमै पुनः निर्वाचनमा सहभागी हुनुपर्ने अवस्था आयो । त्यसले केही निराश बनायो, उनले भने, तर यसपटक अझ सोच–विचार गरेर मत दिन्छौं ।”
गाउँका चोक–चौतारामा अहिले राजनीतिक बहसहरू चलिरहेका छन् । उम्मेदवारका प्रचार–प्रसारका कार्यक्रमले गाउँमा चुनावी रौनक थपेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू फूलमाला र नारासहित मतदातासँग भेटघाटमा व्यस्त छन् । मतदाताहरूले आफ्ना समस्या सुनाउँदै समाधानको अपेक्षा राख्दै आएका छन् । सोही वडाका स्थानीय जयपाल मौर्यका अनुसार विगतका अनुभवले अहिले मतदातामा परिपक्वता आएको छ । कसैको प्रभाव वा लोभमा नपरी अबको नेतृत्व रोज्ने मनस्थितिमा पुगेका छन् । चुनावलाई भविष्य निर्माणको अवसरका रूपमा लिँदै मतदाताहरू आफै सक्रिय हुन थालेको उनले बताए ।
अहिले बाँकेका अधिकांश वस्तिमा निर्वाचनको चर्चा हुदै आएको नेपालगञ्जका सामाजिक अभियन्ता विष्णुलाल कुमालले बताए । गाउँघरमा उम्मेदवारहरुको आगमनले नागकिहरुमा उत्साह थपिदै गएको उनले बताए । “गाउँटोलमा आउने उम्मेदवाहरुको कुरा सुन्ने र सुनाउने क्रम चलिरहेको छ, उनले भने, तर, मतदान गर्दा कुन उम्मेदवारलाई गर्ने भन्ने कुरा हामी आफैले स्वविवेक प्रयोग गरेर निर्णय गर्छाै । यदपी मतदानमा सबैको उत्साजनक सहभागिता हुने उनको भनाइ थियो ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार