Listen LIVE

कोहलपुरमा आठसय बढीको आँखाको शल्यक्रिया

नेपालगञ्ज : कोहलपुर नगरपालिकाद्धारा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा जाँच तथा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरहरुबाट ८ सय १७ जनाले गुमेको आँखाको ज्योति पाएका छन् । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञ चिकित्सकलाई कोहलपुरमा बोलाएर निःशुल्क आँखा जाँच तथा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर गरेपछि उहाँहरुले गुमेको आँखाको ज्योति पाएका हुन् । 

उनले गत वर्ष ४४२ जना र यो वर्ष ३७५ जना गरी ८१७ जनाले गुमेको आँखाको ज्योति पाएको जनाए । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग सम्झौता गरी गत वर्षबाट कोहलपुरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्करुपमै मोतिबिन्दु रोगको शल्यक्रिया अभियान सञ्चालन गरिएको कोहलपुरका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बताए । 

उनले शिविरबाट शल्यक्रियाका लागि छनौट भएका विरामीको कोहलपुर नगर अस्पतालमा तीन दिन लगाएर निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको जनाए । सम्भव भएसम्म ६–६ महिनामा निःशुल्क आँखा जाँच शिविर गर्ने, सम्भव नभए वर्षमा एक पटक शिविर सञ्चालन गरी नागरिकको निःशुल्क आँखा परीक्षण गर्ने सम्झौता भएअनुसार शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

नगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष एक हजार ७०५ पुरुष र ८०३ महिला गरी दुई हजार ५०३ जना नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको थियो । जसमध्ये २२४ महिला र २१८ पुरुष गरी ४४२ जना नागरिकको निःशुल्क आँखाको शल्यक्रिया गरिएको थियो ।

यसवर्ष सो शिविरमा दुई हजार ६८७ जना नागरिकको निःशुल्क रुपमा आँखा परीक्षण गरिएको जनाउँदै स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अमृतकुमार रानाले तीमध्ये २०३ महिला र १७२ पुरुषको मोतिबिन्दुको शल्यक्रिया गरिएको बताए ।

कोहलपुर नगरपालिका–७ की ६४ वर्षीया श्यामपति थारुले आर्थिक अवस्था कमजोर भएकाले एक वर्षदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न नसकिरहेको अवस्थामा शिविरबाट निःशुल्क शल्यक्रिया गराएर आँखाको ज्योती पाएको बताइन् ।  

यस्तै कोहलपुर नगरपालिका–४ की ७६ वर्षीया फुलमति गुजरले पनि आर्थिक अभावले आँखा परीक्षण गराउन समेत नसकेको अवस्थामा शिविरबाट नयाँ ज्योति पाएको बताइन् । 

नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सधैँभर सचेत रहेको र नगरवासीको स्वास्थ्य उपचार गर्नु कर्तव्य र जिम्मेवारी रहेको भन्दै विभिन्न समयमा यस प्रकारका निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने कोहलपुर नगरपालिकाका पदाधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया