Listen LIVE

नेपाल आमाको मूर्ति निर्माण प्रभावित

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौर भम्केनीधाममा नेपाल आमाको मूर्ति निर्माण प्रभावित भएको छ । बजेट अभावका कारण एक वर्षयता निर्माण प्रभावित बनेको मूर्ति निर्माण समितिले जनाएको छ । मूर्ति निर्माणका लागि विसं २०७५ मा भ्याली कन्स्ट्रक्सन प्रालिसँग करिब ११ करोड रुपैयाँमा साढे तीन वर्षमा निर्माण पूरा गरिसक्ने गरि ठेक्का सम्झौता गरिएको थियो । 

नेपाल आमाको मूर्ति निर्माण समितिका संयोजक जनकराज जोशीले भने, 'साढे तीन वर्षमा पूरा गरिसक्ने गरेर ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि सम्झौता गरिए पनि बजेट अभावका कारण समयमै सम्पन्न हुन कठिन भएको छ ।'

महाकाली शारदापीठका जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली यात्रा गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गरेका थिए । पदयात्राका क्रममा जगत्गुरुले सङ्कलन गर्नुभएको एक करोड ८५ लाख रुपियाँले मूर्ति निर्माण अगाडि बढाइएको थियो । त्यसै गरी भीमदत्त नगरपालिकाबाट मूर्ति निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विभिन्न दाताबाट ५० लाख रुपैयाँ सङ्कलन गरिएको मूर्ति निर्माण समितिका संयोजक जोशीले बताए । 

मूर्ति निर्माणका लागि १० करोड ८१ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म तीन करोड रुपैयाँ बराबरको मात्र काम भएको जनाइएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा मूर्ति निर्माणका लागि छ करोड ८० लाख रुपैयाँ विनियोजन पनि भएको छ । यो बजेट निकासा भएपछि निर्माणले पूर्णता पाउने अपेक्षा गरिएको समितिका संयोजक जोशीले बताए ।

मूर्ति निर्माणका लागि करिब २५ टन अष्टधातुको प्रयोग हुने बताइएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिबाट मूर्ति निर्माणको जिम्मा पाएका मुख्य मूर्तिकार मनोहर महर्जनले हालसम्म पाँच टन धातु प्रयोग भएको बताए । उनले भने, 'मूर्ति निर्माणका लागि हाल २८ क्विन्टल तामा तथा केही काँस, पित्तल उपलब्ध रहेकाले त्यसलाई गलाउने काम भइरहेको छ ।'

उनका अनुसार मूर्तिको कुल उचाइ ७५ फिटमध्ये हालसम्म ५८ फिट साँचो निर्माण गरिएको छ । त्यसमा ढलानको काम भने अझै बाँकी छ । यो मूर्ति निर्माण मेची महाकाली जोड्ने अभियान भएकाले यो पूरा भएमा थुप्रै नेपाली यहाँ पुग्ने र यस क्षेत्रका धार्मिक पर्यटनको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको निर्माण समितिका संयोजक जोशीको भनाइ छ । 

मूर्ति निर्माण सुरु गरिएयता यहाँ अवलोकन गर्ने धार्मिक पर्यटक बढ्न थालेको सिद्धनाथ वैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिका महासचिव करन भट्टले बताए । उनले हाल दैनिक एक सय जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भम्केनीधामको अवलोकन गर्न आउने गरेको बताए ।

प्रतिक्रिया