नेपालगञ्ज : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित बाँकेमा सबै प्रकारका पूर्वतयारी तीव्र रूपमा अघि बढाइएको छ। निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा व्यवस्था, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयका काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार तयारी लगभग पूरा भइसकेको छ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडा पर्दछन्। यस क्षेत्रमा कुल १ लाख २४ हजार ७२७ मतदाता रहेका छन्। यहाँ ४८ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा डुडुवा गाउँपालिकाका सबै वडा तथा नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १ देखि १५ र १७ देखि २३ सम्म समेटिएका छन्। यस क्षेत्रमा ५७ हजार ११७ पुरुष, ५१ हजार १६७ महिला र ६ जना अन्यसहित कुल १ लाख ८ हजार २९० मतदाता रहेका छन्। यहाँ ४३ मतदान स्थल र १२४ मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर ३ मा कुल १ लाख १७ हजार ३५४ मतदाता रहेका छन्। यस क्षेत्रमा ४८ मतदान स्थल र १३५ मतदान केन्द्र तोकिएका छन्।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले करिब ९० पृष्ठ लामो निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। आचारसंहिताअनुसार सरकारी तथा गैरसरकारी कर्मचारीले तटस्थता कायम गर्नुपर्ने र पद तथा स्रोत–साधनको दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण, परिणाम अनुमान, भ्रामक प्रचार तथा कसैको मान–मर्यादा र चरित्रमा आँच पु¥याउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच बाँकेका तीनै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार