Listen LIVE

मुगुबाट बाइस किलो यार्चा निकासी

मुगु : जिल्लाको माथिल्लो मुगुको पाटन क्षेत्रमा यार्चागुम्बा सङ्कलन सकिएको छ । जिल्लाबाट २२ किलो यार्चागुम्बा निकासी भएको छ । डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी वसन्ती बुढाका अनुसार गएको आर्थिक वर्ष असार मसान्तसम्ममा २२ किलो यार्चागुम्बा जिल्लामा सङ्कलन तथा निकासी हुँदा स्थानीय व्यापारीबाट ६ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

डिभिजन वन कार्यालयको राजस्व सङ्कलन निर्देशिका अनुसार यार्चागुम्बा निकासीका लागि प्रतिकिलो ३१ हजार दस्तुर लिने गरिएको उनले बताए । 

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाको मुगु र डोल्पुगाउँको सामुदायिक वनको पाटनमा यार्चा पाइने गर्छ । मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार गाउँपालिकाको यार्चागुम्बा सङ्कलन कार्यविधि अनुसार वैशाखमा यार्चा उत्पादन हुने पाटन क्षेत्रमा हिउँ हुने भएकाले जेठको पहिलो हप्तादेखि यार्चागुम्बा सङ्कलन अनुमति दिने गरिएको छ । 

गएको आर्थिक वर्षमा जिल्लाबाहिर र जिल्लाभित्रका गरी एक हजार दुई जना यार्चा सङ्कलन अनुमति लिएकाबाट २८ लाख ४७  हजार राजस्व सङ्कलन भएको पालिकाको रेकर्डमा उल्लेख छ ।

अनुमतिबिना बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्न पाइँदैन । अनुमति रसिद नलिएर चोरीसिकारी गर्नेलाई यार्चा सङ्कलन कार्यविधि अनुसार दण्डजरिबाना गर्ने निर्देशिकामा उल्लेख छ । स्थानीय पाल्जुफुटिक लामाका अनुसार यार्चागुम्बा सङ्कलन उपयुक्त समय जेठदेखि असारसम्म मानिन्छ । 

यार्चा खोजीका लागि घरदेखि दुई दिन हिँडेर ओढ्ने, ओच्छ्याउने, रासनलगायत सम्पूर्ण बन्दोबस्तीका सामान लिएर बालबालिका र महिला जोखिम मोल्दै जाने गर्छन् । यार्चागुम्बा प्रतिगोटाको छ सयदेखि आठ सयसम्म किनबेच हुने गरेको छ । यसै गरी यार्चा प्रतिकेजी १८ लाखदेखि २० लाखसम्म स्थानीय व्यापारीले खरिद गर्ने गरेको उनले बताए । 

यार्चागुम्बाको मूल्य अन्तर्राष्ट्रिय बजारमा सुनभन्दा महँगो भएकाले स्थानीय ज्यान नै जोखिममा राखेर भए पनि यसको खोजी र सङ्कलन गर्ने गर्छन् । यार्चागुम्बा भेटिने मौसममा समुद्री सतहबाट हजारौँ मिटरमाथिको पाटन क्षेत्रमा पुग्नु पर्छ । यो मौसममा यहाँका गाँउ नै रित्ता हुने गर्छन् ।

प्रतिक्रिया